
दाङ । दैनिक सयौँको संख्यामा सवारीसाधन आवागमन गर्ने फराकिलो सडक स्तरोन्नतीको नाममा साँघुरिदै गएको छ । सडक फराकिलो बनाउने नाममा ठाउँ–ठाउँमा चिरा पारिएको छ । सडक अस्तव्यस्त हुँदा २४ किलोमिटरको दुरीको यात्रा घण्टौँ लाग्ने गरेको छ । सडक निर्माणमा ढिलासुस्ती हुँदा एक जनाको सडकको खाल्डोमा परेर मृत्यु समेत भइसकेको छ । साँघुरो सडकमा सवारीको चाप बढ्दै जाँदा सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ । घोराही–तुलसीपुर दुई उपमहानगर जोड्ने सडकखण्डको अवस्था हो यो ।
घोराही–तुलसीपुर सडक फोरलेनमा स्तरोन्नतीको काम शुरु भएको करिब तीन वर्ष पुग्नै लागेको छ । तर यस अवधिमा प्रगति भने करिब ७ प्रतिशत मात्रै छ । कोरोना महामारी लगायतको कारण देखाउँदै सडक निर्माण शुरु गरिएको वषौँ बितिसक्दा पनि सडक अवस्था झन् दिनप्रतिदिन बिग्रन थालेको छ ।

सडकलाई फराकिलो बनाउने काम सुस्त गतिमा हुँदा घोराही तुलसीपुरको यात्रामा सधैँ सास्ती हुने गरेको छ । ‘फोरलेन सडक निर्माणको काम अलपत्र बन्दा हामीले सास्ती पाएका छौँ ।’ तुलसीपुर–५ का गणेश बिकले भने–‘अलपत्र सडक निर्माण हुन लागेको खबर सुनेका छौँ, तर कतै देखिएन् ।’
सडक निर्माणको काम अलपत्र हुँदा हिउँदमा धुलो र वर्षामा हिलोले घोराही र तुलसीपुरको यात्रा कष्टकर हुने गरेको छ । सडक निर्माणको जिम्मा पाएको कम्पनी भारतको मुम्बईस्थित तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर प्रालिलाई भने हाइसन्चो छ । कम्पनीले नेपालका आधिकारिक प्रतिनिधि अनुप पाण्डे तोकेको छ तर पाण्डे पनि वेपत्ता जस्तै छन् । निर्माण थालेको लामो समयसम्म पनि कामको प्रगति नहुँदा पनि ठेकेदारलाई कार्बाही हुन सकेको छैन् । सडक निर्माण समयमै नहुँदा नागरिकले सास्ती पाएका छन् भने ठेकेदारलाई मस्ती भएको छ ।
अनुपले अरुलाई जिम्मेवारी दिने र ती व्यक्तिले भनेअनुसारको काम नगर्दा सडकको अवस्था नाजुक बन्दै गएको छ । अनुपले शुरुमा जनक डाँगीलाई दिए । तर डाँगीले कुरा नमिलेपछि यसअघि नै काम छोडिसकेका छन् । सडक निर्माणको जिम्मा अहिले फेरि सुनिल खत्रीलाई दिइएको छ । फोरलेन सडक स्तरोन्नति परियोजना प्रमुख इञ्जिनियर पारस हमालले अहिलेसम्म आधिकारिक अनुप पाण्डे नै भएको बताए । ‘नयाँ व्यक्तिले निर्माणको जिम्मा अहिले अरुले लगिसेकेका छन् ।’ उनले भने –‘हामी कहाँ भने अनुपलाई नै आधिकारिक मानेका छौँ, सायद केही काम गरेपछि निर्माण कम्पनीले नयाँलाई जिम्मेवारी दिन्छ होला ।’

सडकको ठाउँ ठाउँमा ह्युमपाइप राख्नका लागि खनिएका खाडलहरू पनि पूर्णसमेत नभ्याएको उनको भनाई छ । ‘हामीले कति ठाउँमा त ह्युमपाइप पनि झारिसकेका छौं,’ उनले भने, ‘अब पुरौंला भन्ने थियो, तर झरी सुरू भयो र काम गर्न पाइएन ।’ सन् २०१९ जनवरी अन्तिममा भएको सम्झौतामा ३० महिनाभित्रै विस्तारको काम सक्ने उल्लेख थियो । कोरोना महामारीको कारण देखाउँदै नेपाल सरकारले ६ महिना म्याद थप्दै गएर अहिले २२ मे २०२२ सम्म सक्नुपर्ने भनेको छ । उनका अनुसार अबको करिब ९ महिनाभित्र काम सम्पन्न गर्नुपर्छ । ‘यदि कोरोनाको दोस्रो लहरका कारण फेरि सरकारले म्याद थप गरेपछि १५ महिनाभित्र काम सक्नुपर्छ ।’ उनले भने–‘यदि तोकिएको अवधिमा पनि काम भएन भने त जरिवाना लगाउँछौँ ।’
तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको डिके पेट्रोल पम्पसम्मको २३ किलोमिटर र घोराहीको कटुवा खोलादेखि बबई खोलासम्मको ४ दशमलव ७ किलोमिटर गरी कुल २८ किलोमिटर सडकलाई स्तरोन्नती गर्न थालिएको छ । सडक विस्तारको काम भारतको मुम्बईस्थित तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर प्रालिले पाएको छ । परियोजनाका इन्जिनियर हमालले यसअघि कोरोना महामारीका कारण पेटी ठेकेदारलाई कामका लागि ताकेता गर्न नसकिएको बताए ।
निर्माण व्यवसायी सुनिल खत्रीले अवरोध नभएमा तोकिएकै अवधिमा काम सम्पन्न गर्ने बताए । ‘करिब १५ महिनामा सक्नुपर्ने सम्झौता छ ।’ उनले भने–‘कोरोना महामारी भएन भने हामीले तोकिएकै अवधिमा काम सक्छौँ, यसमा द्धिविधा मान्नुपर्दैन् ।’ उनका अनुसार अहिले थोरै जनशक्तिले ठाउँ–ठाउँमा भएका खाडल पुर्ने काम भइरहेको छ । वाल निर्माणको पनि काम भइरहेको उनले बताए । ‘दशैँ नजिकिदैँ गरेका कारण श्रमिकहरु पाउन सकिएको छैन् ।’ उनले भने–‘श्रमिक पाउनेबित्तिकै काम धमाधम शुरु हुन्छ ।’