परिवर्तन गाउँपालिकामा खानेपानी आयोजना सम्पन्न, पम्पिङ प्रणालीमार्फत पानी लगियो

रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएको छ । खानेपानीको मुहानदेखि करिब १२ सय मिटर माथि पम्पिङ प्रणालीमार्फत खानेपानी बस्तीमा लगिएको छ ।

गाउँपालिकाको वडा ४ पाछाबाङको साबिकको ८ र ९ वडाको तातापानी जरेनी टोलमा सोलार पम्पिङबाट खानेपानी तथा सरसफाइको काम सकिएको उपभोक्ता समितिले बताएको छ । पानीको धारा घर घरमा पुगेपछि स्थानीयहरु हर्षित भएका छन् । यसभन्दा पहिले एक डेढ घण्टा हिडेर पानी ल्याउने समस्या रहेको थियोे । पानीको अभावका कारण पशुचौपाय सुाथै गिद्धहरु समेत मरेकोले स्थानीयवासीको भनाइ छ ।

जब गर्मी मौसम सुरु हुन्छ तब पानीको चरम अभाव हुने गरेको छ । टाढाबाट पानी बोकेर ल्याउने भएकोले मानिसले पिउने, शौचालयमा प्रयोग गर्ने, पशुचौपायलाई खुवाउन समेत मुस्किल हुने गरेको स्थानीय अन बहादुर विष्टले बताए । खडेरीको चार महिना फागुन, चैत, बैशाख र जेठ लगायतको महिना मानव, पशुचौपाय र शौचालयमा पानीको चरम अभाव भोग्दै आइरहेको अर्का स्थानीयवासी बताउँछन् ।

अहिले यसरी घरमा पानीको धारा आएको देख्दा खुशी भएको बताउछन् मानबहादुर विष्ट । बस्तीमा घरघरमा पानीको धारा पुगेपछि स्थानीयहरु खुशी भएका छन् । टोलको घरघरमा पानी पुगेपछि पानी अभावका कुनै पनि समस्या भोग्नु नपर्ने स्थानीयले बताए ।

त्यस्तैगरी विद्यालयमा पनि पानीको धारा पुगेपछि शिक्षक विद्यार्थीहरु खुशी भएका छन् । सरस्वती आधारभूत विद्यालयमा पानी अभावका कारण विद्यार्थी शिक्षकहरु समस्या झेल्दै आएका थिए । विद्यालय प्रधानाध्याक चेतनकुमार केसीले विद्यालयमा पानी पुगेपछि पिउन, शौचालयमा प्रयोग गर्न सहज भएको बताए ।

वर्षाैदेखि पानीको अभाव भोग्दै आएकोमा अब पानीको समस्या खेप्नु नपर्ने स्थानीयको दाबी रहेको छ।

उक्त आयोजनाको २०७७ साउनदेखि सुरु भएकोमा २०७८ भदौ अन्तिममा काम सम्पन्न भएको निर्माण उपभोक्ता समितीका अध्यक्ष खडक बहादुर वलीले बताए । वलीका अनुसार निर्माण कार्य ठूलो आयोजना भएकाले केही ढिलाइ भएर सम्पन्न भएको बताए ।

त्यस्तै आयोजना निर्माणको लागि वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको १५ लाख, परिवर्तन गाउँपालिकाको २५ लाख, स्वीस रेडक्रस र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको ६७ लाख ५७ हजार ४ सय २२ रुपियाँ, जनश्रमदान २४ लाख ३१ हजार ८ सय ८२ रुपियाँ, निजी धारा निर्माणको लागि १० लाख ७ हजार १ सय ७८ रुपियाँ, मर्मत समाहर कोषको लागि १ लाख २० हजार र समुदायको नगद १ लाख ३० हजार गरि जम्मा १ करोड ४२ लाख ९८ हजार ८ सय रुपैयाँ बराबरको लागतमा कार्य सम्पन्न भएको निर्माण उपभोक्ता समितीका सचिव चन्द्र बहादुर मल्लले जानकारी दिए ।

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति डि.वी घर्तीमगर, परिवर्तन गाउँपालिका अध्यक्ष निमकांन्त डाँगी, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका प्राविधिक श्रीधर डाँगीले बोलेका थिए । सो आयोजनाबाट तातोपानी र जरेनी टोलका करिब ९६ घर र १ विद्यालय लाभान्वित भएको बताइएको छ।

प्रकाशित मिति : २०७८ असोज २ गते शनिवार
प्रतिक्रिया दिनुहोस