तुलसीपुर । हलवार स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा शुभारम्भ गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको स्वास्थ्य चौकीले नयाँ भवनबाट सेवा दिन शुभारम्भ गरेको हो ।
करिब २ करोड ४५ लाखको लागतमा निर्माण गरिएको सुविधासम्पन्न भवनको शुक्रबार(आज) तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले उद्घाटन गरेका हुन् ।
भवनको उद्घाटन गर्दै नगरप्रमुख पाण्डेले सुविधा सम्पन्न नयाँ भवनबाट सेवा आरम्भ भएसँगै स्वास्थ्य चौकीले उपचार सेवा प्रभावकारी बनाउने बताए । नागरिक स्वस्थ भए मात्रै समृद्ध नेपालको परिकल्पना गर्न सकिने भएकाले नगरले स्वास्थ उपचार सेवालाई प्रभावकारी बनाउदै लैजाने बताए ।
साथै नगरले हलवार स्वास्थ्य चौकीलाई एम्बुलेन्स पनि हस्तान्तरण गरेको छ । नगरप्रमुख पाण्डेले एम्बुलेन्सले सुत्केरी, अशक्त, बालबालिका तथा जेष्ठ नागरिकलाई स्वास्थ्य उपचार लिन सहजता प्रदान गर्ने पाण्डेले बताए ।
त्यस अवसरमा स्वास्थ्य चौकीको भवन निर्माणका लागि जग्गादान गर्ने जग्गादाता सुन्दर रोका, तारा रोका, बिरबहादुर रोका र बिष्णु खड्कालाई सम्मान गरिएको छ ।
वडा नम्बर ४ का वडा अध्यक्ष तथा भवन निर्माण समितिका संयोजक बालकृष्ण राणाको अध्यक्षता तथा नगरप्रमुख पाण्डेको प्रमुख आतिथ्यतामा भवन उद्घाटन कार्यक्रम गरिएको हो ।
स्थानीय सरकारको पहलमा संघीय सरकारबाट प्राप्त बजेटले २० कोठाको स्वास्थ्य चौकीको भवन निर्माण भएको हो । नयाँ भवनबाट प्रसूती गृह समेत सञ्चालनमा आएपछि सुत्केरी हुनका लागि तुलसीपुर पुग्नुपर्ने बाध्यता हटेको छ ।
उद्घाटन कार्यक्रममा तुलसीपुरका नगरप्रवक्ता सुर्यबहादुर डाँगी, वडा नम्बर ६ का नवराज लामिछानेलगायतले नवनिर्मित भवनबाट सेवा शुभारम्भसँगै बिरामीलाई स्वास्थ्य उपचारमा सहजता ल्याउने बताए ।
कार्यक्रममा गादिवरा सामुदायिक बनका अध्यक्ष ठाकुर बन्जाडे, ठुलाचौर टोल विकास संस्थाका अध्यक्ष फनेन्द्र भट्टराई, महिला स्वास्थ्य स्वयंसेविका हिमादेवी थापाले एम्बुलेन्स सेवाको लागि सडक सुधार गर्नुपर्ने बताए ।
कार्यक्रमको सहजीकरण रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले गरेका थिए ।