पार्टी सभापतिले एकलौटी गरेको भन्दै पौडेल समूहको बैठक बस्दै

काठमाडौ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले सत्ता सञ्चालन र राजनीतिक नियुक्तिमा एकलौटी गरेको भन्दै पौडेल समूह छलफलमा जुटेको छ ।

देउवाले गृह जिल्ला डडेलधुरामा राज्यशक्तिको दुरुपयोग गर्दै पार्टीको वडा अधिवेशनमा प्रहरी दमन गरेको भन्दै पौडेल समूह रुष्ट छ । पौडेल समूहका एक नेताका अनुसार पार्टी महाधिवेशन, सरकार विस्तारमा भएको ढिलासुस्ती र राजनीतिक शक्ति वाँडफाँटमा प्रधानमन्त्री समेत रहेका सभापति देउवाले गरेको एकलौटीपनको विषयमा छलफल हुँदैछ । 

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने ती नेताले जानकारी दिए । “सरकारले पूर्णता पाएको छैन, पूर्णता दिन पार्टीमा छलफल छैन,” उनले भने, “ओलीलाई तानाशाह भनेर हटाइयो, आज हाम्रो सरकार पनि त्यसै बन्छ कि भन्ने डरले छलफलमा जुटेका हौं ।”

यसअघि आइतबार पनि सोही समूहका शिर्ष नेताहरुबीच छलफल भएको थियो । पौडेल निवासमा भएको छलफलमा आफू निकट केन्द्रीय सदस्यहरुसँग परामर्श गरेर मात्र भावी कदम चाल्ने सहमति भएको थियो । सहमति बमोजिम बैठक आज बस्न लागेको हो । 

बैठकमा २० जिल्लाको क्रियाशील सूची तत्काल सार्वजनिक गरेर संसोधित कार्यतालिका बमोजिम अधिवेशनको माग गर्ने तयारी छ । “अब अधिवेशन गर्न पनि राज्यशक्ति र प्रहरी दमन सभापतिबाट सुरु भयो, यसले हामीभित्र डर पैदा गरेको छ,” ती नेताले भने, “२० जिल्लामा पनि यसरी अधिवेशन भयो भने हामी के गर्ने, साथीहरुको राय लिएर अघि बढ्छौं ।”

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस