अट्वारी पर्व मनाइँदै, दाङका चार पालिकामा सार्वजनिक विदा


दाङ । दाङसहित थारु समुदायको बसोबास रहेका जिल्लाहरुमा आज अट्वारी पर्व मनाइँदै छ । पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपरका थारु समुदायले अट्वारी पर्व धुमधामसँग मनाउने गर्छन् ।

हरेक वर्षको अष्टमीपछि चन्द्रमा देखिने बित्तिकै मनाउने परम्पराअनुसार उपयुक्त ठानी अट्वारी मनाउन लागिएको हो । खासगरि थारु समुदायका पुरुषहरुले महिलाको सम्मानको लागि भनेर यो दिनलाई विशेष रुपमा लिने गरेका छन् ।

आजको दिन पानीसमेत नखाएर ब्रत बस्ने गरिन्छ । अट्वारी पर्व कृण्ण जन्माअष्टमीको आठ दिनपछि आउने दिनलाइ मनाउने प्रचलन थारु समुदायमा छ । यो पर्व सूर्य अर्थात् शक्तिको उपसनाको लागि गर्ने गरिएको थारु संस्कृतविद् अशोक थारुले बताउनुभयो ।

किम्बदन्तीअनुसार दाङका थारु राजा दंगीशरण, पाण्डव र कौरवको बीचको युद्धका नायक भिमसँग समेत जोडेर यो पर्वलाई मनाउन गरिएको संस्कृतविद थारुले बताउनुभयो । थारु राजा र पाच पाण्डवको सम्बन्धलाई बलियो बनाउन यो पर्व मनाइने गरेको किम्बदंती छ ।

यसैबिच थारु समुदायको महान पर्व अट्वारीको अबसरमा दाङका चारवटा स्थानिय तहहरुले सार्वजनिक बिदा दिएका छन् । घोराही र तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र दंगिशरण गाउँपालिकाले आज एक दिन स्थानिय बिदा दिएका हुन् ।

लुम्बिनी प्रदेश सरकारले थारु समुदायलाई मात्रै बिदा दिएपछि दाङका चारवटा स्थानिय तहहरुले सार्वजनिक बिदा दिने निणर्य गरेका हुन् । थारु समुदायहरुको उल्लेख्य बसोबास भएकाले अट्वारी पर्वको अवसरमा स्थानिय विदा दिने निणर्य भएको हो ।

स्थानिय तहहरुले दिएको बिदा उनिहरुको मातहतमा रहेका शाखा, महाशाखा, संस्थाहरु लागु हुने छ ।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस