विराटनगर । संखुवासभाको मादी नगरपालिका वडा नं. १ मा एकै परिवारका ६ जनाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । हत्या आरोपमा शनिबार बिहान प्रहरीले एक जना छिमेकी युकवलाई पक्राउ गरेको हो ।
पक्राउ परेका युवक मृतक परिवारका आफन्त पर्छन् । आइतबार सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले हत्या आरोपीको पहिचान खुलाएको छैन ।
प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी युवक शङ्काको घेरामा थिए । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिको सर्टमा लागेको रगत र मृतकको डिएनए परीक्षणपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ ।
संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । हत्या आरोपीलाई आइतबार सार्वजनिक गरिने छ ।
हत्यामा एक व्यक्तिको मात्रै संलग्नता रहेको प्रहरी स्रोतले बताएको छ । सुरुमा तेजबहादुरको हत्यापछि परिवारका अन्य सदस्यको हत्या भएको स्रोतको दाबी छ ।
संखुवासभाको मादी नगरपालिका १ खोला गाउँको उम्लिङमा गत सोमबार तेजबहादुर कार्की र उनकी श्रीमती कमला कार्की, तेजबहादुरकी आमा पार्वती कार्की, तेजबहादुरकी जेठी बुहारी रञ्जना कार्की, नाती ११ वर्षीय दीपेन कार्की, नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।