दुधरास(दाङ) । तुलसीपुर उपमहानगरपालिका—१८ दुधरासको एउटा ऐलानी जग्गामा रहेको एउटा झुपडिमा बस्ने जगबहादुर विकको घरमा सायद पहिलोपटक एकैपटक दुई बोरा चामल भित्रियो । टाउकोमा ढाकाटोपि, घाँटीमा मफलर र लौरोको सहायतामा जसोतसो दैनिकी चलाइरहेका जगबहादुर घरमै चामल पाउँदा प्रसन्न देखिए ।
‘चार महिनालाई अन्नपातको जोहो भयो, बिमारले अशक्त भएपछि दैनिकी गुजारामै समस्या थियो’, नेपाली कांग्रेस तुलसीपुर—१८को नवनिर्वाचित ईकाइ समिति र क्षेत्रीय प्रतिनिधिहरुको टोली खाद्यान्न सहयोग लिएर त्यहाँ पुगेका टोलीलाई जगबहादुरले भने । चौधौं महाधिवेशनका क्रममा भएको वडा अधिवेशनमा सर्वसम्मत नेतृत्व चुनिएपछि सो वडाले गरेको पहिलो सामाजिक अभियान थियो राहत वितरण । जोगबहादुर मात्र होइन, सोहि स्थानकै ऐलानीमा बस्दै आएका भूमिहीन तथा बिरामी मज्दुर नर बहादुर विकलाई पनि यस्तै खाद्यान्न सहयोग गरिएको थियो ।
प्रतिपरिवार दुई बोरा चामल, एक किलो नुन, एक लिटर तेल, दाल लगायतका खाद्य सामाग्रीहरु सहयोग स्वरुप प्रदान गरिएको ईकाइ सभापति विरेन्द्र खड्काले बताए । पार्टी राजनीतिमा मात्र सीमित नभएर समाजमा यसरी दैनिकरुपमा खानाकै समस्यामा परेका परिवारलाई सहयोग गरेर वडा ईकाइ समितिले आफ्नो पहिलो अभियान सुरु गरेको पनि सभापति खड्काले बताए । ‘नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका—१८ ईकाइ अब सामाजिक कार्यमा पनि निरन्तर जोडिने छ’, खड्काले भने कोभिडको महामारीमा होस वा बाढिपिडीत सबैलाई सहयोग गर्न हामीहरु निरन्तर लागीरहने छौं ।
जग बहादुर विक लामो समयदेखि मज्दुरी गर्दै ऐलानी जग्गाको एउटा सानो झुपडिमा बस्दै आएका थिए । पछिल्लो समयमा उनी क्षयरोगले पिडीत भएपछि दैनिकरुपमा ज्याला मजदुरी गर्न नसक्ने भएपछि उनलाई साँझ विहान हातमुख जोर्नै मुस्कील भएको थियो । त्यसैगरी नर बहादुर विक पनि केही दिन अघि घरमै लडेर काम गर्न नसक्ने भएपछि उनको परिवारलाई पनि हातमुख जोर्न समस्या परेको थियो ।
नेपाली कांग्रेस तुलसीपुर—१८ ईकाइद्वारा आयोजित राहत वितरण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य श्याम रेग्मी, कांग्रेस नेता कृष्ण बहादुर डाँगी, रामकुमार डाँगी, साविक बिजौरी ईकाइ सभापति हिम बहादुर डाँगी, नेता एचवि सेर्चन, विद्यार्थी नेता हरीष चन्द्र भण्डारी, तरुण नेता शंकर नेपाली, विपिन आचार्य, पिताम्वर वली, धनबहादुर डाँगी, रमेश रोका, हरी नेपाली, ईकाइ सचिवद्वय बिदुर गौतम र चित्र नेपाली लगायत सबै क्षेत्रीय प्रतिनिधि तथा ईकाइ समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । क्षेत्रीय प्रतिनिधि तथा ईकाइ समितिका पदाधिकारीहरुले आर्थिक संकलन गरेर खाद्यान्न सहयोग गरिएको क्षेत्रीय प्रतिनिधि रमेश रोकाले बताएका छन् ।