सवारी चालक अनुमतिपत्र अनिश्चितकालीन बन्द

२५ भदौ, दाङ । सरकारी अकर्मण्यताले नेपालमा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणाली भताभुङ्ग भएको छ ।

यातायात व्यवस्था विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयहरुले समयमै सही तरिकाले निर्णय गर्न नसक्दा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल) र लाइसेन्स छपाइ र वितरणसम्मका सबै काम सरकारको बसभन्दा बहिर पुगेको छ ।

कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा छन् भने लाइसेन्स लिन आवेदन दिएर प्रक्रियामा प्रवेश गरेकाहरु पनि अन्योलमा छन् ।

यातायात व्यवस्था विभागले गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको लिखित तथा प्रयोगात्मक परीक्षा भदौ २० गतेदेखि खुलाउने निर्णय गरेको छ । तर, काठमाडौं बाहेकका क्षेत्रका अधिकांश लाइसेन्स कार्यालयले अझै परीक्षा खुलाइसकेका छैनन् ।

विभागकाअनुसार अहिले परीक्षामा सहभागी हुन आवेदन दिएका करिब ३ लाख जनाले चालकको परीक्षाको मिति कुरिरहेका छन् । लाइसेन्सको परीक्षा शुरु गरेका कार्यालयले प्रतिक्षा सूचीमा रहेको चाप छिटो घटाउने गरी कुनै पहलकदमी लिएका छैनन् ।

नियमित शैलीमा परीक्षा लिइरहेका छन् भने कतिपय कार्यालय परीक्षा फेरि सुरु गर्ने गृहकार्यमा छन् । स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइले सेवाग्राहीले दुई वर्षसम्म लाइसेन्स नपाउने अवस्था भएपछि विभागले कम्तिमा एक वर्षको अवधि राखेर परीक्षणकालीन लाइसेन्स जारी गर्न सुरु गरेको छ ।

यातायात व्यवस्था विभागमा महानिर्देशक नवराज घिमिरेले सबै कार्यालयले तत्कालै परीक्षा लिन सुरु गरे पनि आवेदन दिएका साढे ४ लाख जनाले कहिलेसम्म परीक्षा दिइसक्छन् भन्ने निश्चित नभएको बताए ।

यसले गर्दा लाइसेन्सको परीक्षाका लागि आवेदन दिन चाहनेहरु पनि मारमा पर्नेछन् । सम्बन्धित लाइसेन्स कार्यालयहरु हाल आवेदन दिएकाहरुले परीक्षा दिएपछि मात्रै नयाँ आवेदन लिने पक्षमा छन् ।

प्रकाशित मिति : २०७८ भाद्र २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस