
२५ भदौ, काठमाडौँ । सबै प्रकारका क्रिप्टोकरेन्सीको कारोबार नगर्न राष्ट्र बैंकले एक सूचनामार्फत निर्देशन जारी गरेको छ ।
‘नेपालमा सबै प्रकारका क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र निर्माण (माइनिङ) गैरकानुनी हो,’ राष्ट्र बैंकले सोमबार जारी गरेको सूचनामा भनिएको छ, ‘त्यस्ता प्रकारका क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङसम्बन्धी कार्य नगर्नु/नगराउनु हुन राष्ट्र बैंकले सो निर्देशन जारी गरेको हो ।’

विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को व्यवस्थाबमोजिम राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।
‘हालका दिनमा क्रिप्टोकरेन्सीहरूका कारोबार, प्रयोग र माइनिङजस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने/गराउनेसमेत पाइएको र त्यस्ता कार्यबाट सर्वसाधारण ठगिएकोरठगिन सक्ने देखिएको हुँदा कसैले त्यस्तो कार्य गरेको/गराइएको पाइए कानुनबमोजिम सजाय हुने जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।
राष्ट्र बैंकले २०७४ साउन ३० मा निर्देशन जारी गरेर नेपालमा बिटक्वाइनको कारोबारमा बन्देज गरेको थियो ।
पछिल्ला वर्षमा बिटक्वाइनजस्तै प्रकृतिका अन्य धेरै करेन्सीको विभिन्न नाममा कारोबार भइरहेका छन् । सोही कारण त्यस्ता प्रकृतिका सबै करेन्सीको कारोबारमा बन्देज लगाइएको हो ।