दाङका शिवालयहरुमा भिडभाड

२४ भदौ, दाङ । भाद्र शुक्ल तृतीया अर्थात् सनातन धर्मावलम्बी महिलाहरूले आज तिज पर्व मनाउँदै छन् ।

हिन्दू नारीहरू यो दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्छन् । हिमालय पर्वत र मेनाकी पुत्री पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी कठिन तपस्या गरेको र त्यसैको प्रभावस्वरूप महादेव पति पाएको पौराणिक कथन छ ।

यसरी व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वासमा महिलाहरू तिजको व्रत बस्ने गरेका छन् । विवाहिताहरूले आफ्ना पति छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताहरूले असल पतिको कामनामा व्रत बस्ने भन्ने लौकिक चलन पनि छ ।

आजका दिन नाचगान गरी घरव्यवहारमा पाएका दुःखकष्टलाई गीतमा उतार्ने गरिन्छ ।

यसैबिच दाङका शिबालयमा बिहानै देखि महिलाहरु भिडभाड लागेको छ भने विभिन्न ठाउँमा नाचगान चलिरहेको हाम्रा सहकर्मीहरुले जानकारी दिएका छन् ।

तुलसीपुरको त्रिसिद्धेश्वरी, शितलपुर, घोराहीको धारापानी लगायतका ठाउँमा महिलाहरुको भिडभाड छ ।

प्रकाशित मिति : २०७८ भाद्र २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस