२४ भदौ, काठमाडौं । महिला दिदीबहिनीहरुले निराहार व्रत बसी आज बिहिबार हिन्दु परम्पराअनुसार हरितालिका तीज मनाउदैछन् ।
हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन मनाउने यो पर्व अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाहरुले तीजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने चलन छ ।
तीजका दिन विहानै नुहाइ धुवाइ गरी भगवान शिवको आरधना गर्दै महिलाहरु नाचगान र रमाइलो गर्नमा ब्यस्त हुने गरेकोमा कोरोनाका कारण व्रत बस्ने देखि गरिने अन्य क्रियालापमा कमि देखिएको छ ।
तीजमा व्रत बस्दा स्वास्थ्यका लागि केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । व्रत बस्दा ध्यान स्वास्थ्यमा ख्याल गरिएन भने ज्यानै जान पनि सक्छ । विशेष गरी सुगर र प्रेसरका रोगीहरूले व्रत बस्दा उनीहरूलाई खतरा हुन्छ । नियमित औषधि प्रयोग गर्ने महिलाहरूले व्रतको दिन औषधी समेत नखाँदा उनीहरूको स्वास्थ्यस्थितिमा नराम्रो असर समेत आउन सक्छ ।
कस्ता व्यक्तिले व्रत कसरी बस्ने ?
- नियमित औषधी प्रयोग गर्ने महिलाका लागि तीजको निराहार व्रत उपयुक्त हुँदैन ।
- पानी नखाइ व्रत बस्दा ज्यान पनि जान सक्छ, त्यसैले व्रतमा पानी पिउदा हुन्छ ।
- भोकै व्रत बस्दा शरीर कमजोर हुन सक्छ, त्यसैले फलफुल खानु राम्रो हुन्छ ।
- तीजमा व्रत बसेका महिलाहरू मन्दिरमा पुजा गर्न धेरै भीडभाड भएको ठाउँमा लाइनमा बस्छन् । यसले भोको शरीर झनै थाक्छ । त्यसैले पानी पिउनुपर्छ ।
- तीज भन्ने वित्तिकै व्रत मात्र होइन रमाइलो र नाचगान पनि उत्तिकै हुने पर्व हो । तर तीजमा व्रत बसेका महिलाले खाली पेटमा नाच्दा रिँगटा लागेर बेहोस हुने सम्भावना हुन्छ ।