युट्युबलाई पछि पार्दै टिकटक बन्यो सबैभन्दा धेरै हेर्ने भिडियो एप

२२ भदौ, एजेन्सी । अमेरिका र बेलायतमा युट्युबलाई पछि पार्दै चिनियाँ एप टिकटकले युवा पुस्तामाझ निकै लोकप्रिय बनिरहेको छ ।

एक नयाँ तथ्यांक अनुसार अमेरिका र बेलायतमा टिकटक प्रयोगकर्ताले टिकटकमा खर्चिने समय युट्युबमा खर्चिने समयभन्दा बढी पुगेको छ ।

एपहरुको अनुगमन गर्ने कम्पनी एप एन्नीको रिपोर्ट अनुसार हरेक प्रयोगकर्ताले एपमा बिताउने औसत समयको मामिलामा टिकटक सबैभन्दा अगाडि देखिएको छ ।

गुगल स्वामित्वको भिडियो जाएन्ट युट्युबका मासिक सक्रिय प्रयोगकर्ताको संख्या करिब दुई अर्ब रहेको छ । जबकि पछिल्लो तथ्यांक अनुसार टिकटकका प्रयोगकर्ताको संख्या ७० करोड छ ।

एप एन्नीको यो रिपोर्ट एन्ड्रोइड एप प्रयोगकर्ताको आधारमा लिइएको हो, जसमा आइओएस प्रयोगकर्तालाई समावेश गरिएको छैन । साथै यसमा चिनियाँ प्रयोगकर्ताको संख्या पनि समावेश छैन । चीनमा टिकटक डुइनको नामले चिनिन्छ र यो चीनमा धेरै प्रयोगकर्ता भएको मुख्य एप मध्येमा पर्दछ ।

टिकटकले पनि आफूलाई मन परेको सर्जकलाई प्रयोगकर्ताले टिप दिनसक्ने सुविधा उपलब्ध गराएको छ । त्यस्तै युट्युबमा पनि यस्तै सुविधा उपलब्ध छ ।

प्रकाशित मिति : २०७८ भाद्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस