नेपाल दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग २–१ ले पराजित

२१ भदौ, काठमाडौं । १७ भदौमा भएको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेको नेपालले आइतबार भने २–१ गोलको हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको प्लेइङ ११ मा प्रशिक्षक अल्मुताइरीले तीन खेलाडी परिर्वतन गरेका थिए ।

पहिलो हाफमा नेपालले सुधारिएको प्रदर्शन गरेको थियो । नेपाली डिफेण्डरको उत्कृष्ट प्रदर्शनका कारण भारतले उल्लेख्य आक्रमण बुन्न सकेन ।

पहिलो हाफमा नेपालले पनि गोल गर्ने केही अवसर सदुपयोग गर्न सकेन । अनुभवी स्ट्राइकरलाई बेञ्चमा राखेर आएका मनिष र आशिष गोल गर्न चुके । खेलको १४ औं मिनेटमा मनिषले पेनाल्टी एरियाभित्र वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् ।

भारतीय गोलरक्षक अमरिन्दर सिंह आफ्नो स्वाभाविक पोजिसनमा भएको बेला पनि मनिष आफैं अनियन्त्रित भए र नेपालले गोल गर्ने राम्रो अवसर गुमायो ।

खेलको २७ औं मिनेटमा नेपालले गोल गर्ने अर्को अवसर गुमायो । आयुष घलानको लामो क्रसमा आशिषले सिक्स यार्ड बक्सबाट बललाई कनेक्ट गर्न सकेनन् ।

पहिलो हाफमा अन्तिमतिर भारतले एउटा अवसर बनाएको थियो । ४१ औं मिनेटमा विपिन सिंहले क्रस गरेको बल नेपालका गौतम श्रेष्ठले क्लियर गरेका थिए ।

त्यस्तै दोस्रो हाफमा भारतले सुधारिएको प्रदर्शन गर्‍यो । विपिन सिंहको स्थानमा मैदान प्रवेश गरे फारुख चौधरीले ६२ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाए । कप्तान सुनील क्षेत्रीको हेडर पासमा अनमार्क रहेका फारुखले सहजै गोल गरेका थिए ।

खेलको ८६ औं मिनेटमै नेपालका लागि दुई खेलाडीले डेब्यु गरे । यही खेलबाट नेपालका लागि सर्वाधिक खेलको कीर्तिमान बनाएका कप्तान किरण चेम्जोङलाई रिप्लेस गर्दै गोलकिपर विशाल श्रेष्ठले डेब्यू गरे ।

यस्तै राजन गुरुङले पनि डेब्यु गरे । राजन मनिष डाँगीको स्थानमा मैदान प्रवेश गरेका थिए । लगत्तै नेपालले गोल फर्कायो । ८६ औं मिनेटमा तेज तामाङले लोभलाग्दो गोल गरेपनि हार टार्न पर्याप्त भएन ।

नेपाल र भारतबीच अहिलेसम्म २१ खेल भएको छ, जसमध्ये १४ खेल गुमाएको नेपालले ५ वटामा बराबरी खेलेको छ । दुई वटा मात्र नेपालले जितेको छ ।

भारतविरुद्ध नेपालको पछिल्लो जित ८ वर्षअघि साफ च्याम्पियनसिपमा भएको थियो । आजकै दिन अर्थात ५ सेप्टेम्बर २०१३ मा नेपालले भारतलाई २–१ ले हराएको थियो । त्यसयता नेपालले कुनै पनि खेलमा भारतलाई जित्न सकेको छैन ।

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस