देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा तीन युवती पक्राउ

रुपन्देही । तिहारका बेला देउसीभैलो कार्यक्रमको नाममा सार्वजनिक रूपमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नेपाली मौलिक कला, संस्कृति र सामाजिक मर्यादाविपरीत हुने गरी नृत्य प्रस्तुत गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सिद्धार्थनगर नगरपालिका–७ कान्छीबजारबाट वडा प्रहरी कार्यालय भैरहवाको टोलीले बिहीबार उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका–४ की २२ वर्षीया पुजा ठकुरी, दाङको गढवा गाउँपालिका–७ की २३ वर्षीया सपना चौधरी र गुल्मीको सत्यवती गाउँपालिका–६ की २४ वर्षीया बिपना मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका तीनै जनामाथि ‘सार्वजनिक हित र नैतिकता विरुद्धको कसूर’ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले चाडपर्वका अवसरमा आयोजना हुने सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमलाई सामाजिक मर्यादा र कानुनी सीमाभित्र सञ्चालन गर्न आग्रह गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस