गुल्मी । धान काटेर भित्र्याउने तयारीमा रहेका गुल्मीका किसानलाई भाइटीकाको दिन परेको असिनापानीले निराश बनाएको छ । असिनासहितको वर्षाले जिल्लाका विभिन्न स्थानमा पाक्न लागेको धानबालीमा क्षति पुर्याएको छ । विशेषगरी इस्मा गाउँपालिका–१ को भराह र गुर्वा क्षेत्रमा धानबाली बढी प्रभावित भएको छ । गुर्वामा मात्रै करिब चार सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा असिनापानीले क्षति पुर्याएको छ । पाकेर काट्ने तयारीमा रहेको धान खेतमै झरेपछि किसान चिन्तित बनेका छन्।
स्थानीय कृषक पदम खत्रीको करिब एक सय रोपनी क्षेत्रफलमा लगाइएको धानमा समेत असिनाले क्षति पुर्याएको छ । केही दिनमै धान काट्ने तयारीमा रहेका खत्रीको वर्षभरिको मेहनत अन्तिम समयमा प्रभावित भएको छ। आफ्नो तथा अरूको जग्गा भाडामा लिएर धान खेती गर्दै आएका खत्रीले यस वर्ष उत्पादन राम्रो हुने अपेक्षा गरेका थिए । धान राम्रोसँग फलेका बेला असिनापानी परेर ठूलो क्षति पुगेको उनले बताए।
गुर्वामा मात्र नभई असिनापानीले जिल्लाका अन्य स्थानका धानबालीमा समेत असर पुर्याएको छ । तिहार सकिएसँगै जिल्लाभर किसान धान काट्ने र भित्र्याउने चटारोमा जुट्न थालेका छन्। विभिन्न फाँटमा धान पाकेर पहेँलपुर भएको समयमा असिनापानी पर्दा किसानको मेहनतमा असर पुगेको छ । भित्र्याउने बेला बालीमा क्षति हुँदा किसानलाई आर्थिक नोक्सानी हुने र खाद्यान्न उत्पादनमा समेत असर पर्न सक्ने देखिएको छ।
कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार जिल्लामा कुल नौ हजार १५३ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । त्यसमध्ये चार सय ४५ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिन्छ। जिल्लाका किसानले स्थानीय तथा उन्नत जातका विभिन्न धान खेती गर्दै आएका छन् । रामधान, खुमल–४, खुमल–६, खुमल–१०, हंसराज, मकवानपुर–१, खुमल–८, हर्दिनाथ, आँपझोते, जडन र लामे जातका धान जिल्लामा बढी लगाइन्छन्।
त्यस्तै, हाइब्रिड जाततर्फ च्याम्पियन, शंकर र उपजलगायतका धान पनि किसानले खेती गर्दै आएका छन्। धान खेतीका लागि जिल्लामा सिँचाइको सुविधा भने अझै पर्याप्त छैन। जिल्लामा तीन हजार ६ सय २६ हेक्टर क्षेत्रफलमा वर्षभरि सिँचाइ सुविधा रहेको छ भने छ हजार ६ सय ९० हेक्टर क्षेत्रफलमा आंशिक सिँचाइको व्यवस्था छ। सिँचाइको पर्याप्त सुविधा नहुँदा धेरै किसान अझै पनि वर्षाको पानीमा निर्भर छन्।
यस वर्ष उत्पादन राम्रो हुने आशा गरिरहेका किसान धान पाक्ने अन्तिम समयमा भएको असिनापानीबाट थप समस्यामा परेका छन्। क्षतिको यकिन विवरण आउन बाँकी रहे पनि प्राकृतिक विपत्तिले भित्र्याउन तयार बालीमा असर पुर्याउँदा किसानको आम्दानी र जिल्लाको धान उत्पादन दुवैमा प्रभाव पर्ने देखिएको छ।


