आज सेयर बजार २.६४ अङ्कले बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार २.६४ अंकले बढेको छ । यो वृद्धिसँगै बजार परिसूचक नेप्से २६५५ अंकमा कायम भएको छ ।
सेयर बजामा १५८ कम्पनीको मूल्य बढेको छ भने १०७ को घटेको छ । कारोबार भएका १४ कम्पनीको मूल्य स्थिर रह्यो ।

दिनभर कारोबारका क्रममा बजारको उतारचढाव न्यून रह्यो । दिउँसो १ः०७ बजे नेप्से अधिकतम २६६१ अंकसम्म पुगेको थियो । कारोबार रकम आज पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ७२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४६ करोडको भयो ।

अन्यबाहेक सबै समूहगत सूचक बढेका छन् । तर ती समूहगत सूचकको वृद्धि १ प्रतिशतभन्दा न्यून रह्यो । बैंकिङ ०.०९, विकास बैंक ०.२६, फाइनान्स ०.०३, होटल तथा पर्यटन ०.०४, जलविद्युत् ०.२५, लगानी ०.२३, जीवन बीमा ०.३५, उत्पादन तथा प्रशोधन ०.१०, माइक्रोफाइनान्स ०.०८, निर्जीवन बीमा ०.६५ र व्यापार ०.०८ प्रतिशत बढे । अन्य समूह ०.८८ प्रतिशत घट्यो ।

क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १४.०८ प्रतिशत बढ्यो । बेनी हाइड्रोपावरको ५.७८, राष्ट्रिय बीमा कम्पनीको ३.४२, चिरख्वा हाइड्रोपावरको ३.१८, माउन्ट एभरेस्ट पावरको २.९० प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै घोराही सिमेन्टको ४.४३, नेपाल पुनर्बीमाको ३.७०, कालिन्चोक दर्शनको २.७०, गुराँस लघुवित्तको २.६४ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा आज घोराही सिमेन्ट, स्वेतगंगा हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, घलेम्दी हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर, शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

प्रकाशित मिति : २०८३ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस