हापुरे बजारमा आगलागी, दमकल नहुँदा कस्मेटिक पसल जलेर नष्ट

हापुरे । दाङको बबई गाउँपालिका–५ स्थित हापुरे बजारमा बुधबार बेलुकी आगलागी हुँदा एउटा कस्मेटिक पसल पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय खिमबहादुर सोमैले सञ्चालन गर्दै आएको गौरी शृंगार पसलमा बेलुकी करिब ८ बजे आगलागी भएको हो। विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ।

आगलागी भएको दुई घण्टाभन्दा बढी समय बितिसक्दा पनि दमकल नपुगेपछि पसलमा रहेका सबै सामान जलेर नष्ट भएका छन्। आगो निभाउन स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिए पनि दमकल र आवश्यक उपकरण नहुँदा आगो नियन्त्रणमा लिन कठिन भएको थियो। बाल्टिनमा पानी बोकेर आगो निभाउने प्रयास गरिए पनि आगो ठूलो भएकाले नियन्त्रणमा लिन नसकिएको स्थानीयको भनाइ छ।

पश्चिम दाङका चारवटा पालिकामा दमकल नहुँदा आगलागीका घटना नियन्त्रणमा समस्या हुने गरेको छ। तुलसीपुर उपमहानगरपालिकासँग रहेको दमकल २०८२ भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा जलाइएको थियो। त्यसयता नयाँ दमकल खरिद हुन नसक्दा आगलागी नियन्त्रणका लागि आवश्यक व्यवस्था अभाव भएको छ।

हापुरे बजारमा आगलागी हुँदा झन्डै ४६ किलोमिटर टाढा रहेको घोराहीबाट दमकल बोलाउनुपर्ने अवस्था छ। आगलागी भएको स्थानमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीसहितको प्रहरी टोली पुगेको थियो। तर, आवश्यक उपकरण र दमकलको अभावमा आगो नियन्त्रणमा लिन कठिनाइ भएको थियो।

आगलागीका बेला समयमै दमकल नपुग्दा पसलका सबै सामान जलेर नष्ट भएपछि स्थानीयवासीले दमकलको व्यवस्था गर्न नसकेको भन्दै स्थानीय सरकारप्रति असन्तुष्टि जनाएका छन्। पश्चिम दाङका बजार तथा बस्तीमा आगलागीको जोखिम रहे पनि दमकलको व्यवस्था नहुँदा यस्ता घटनामा ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था देखिएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस