काठमाडौँ । एनपिएलको तेस्रो संस्करण त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार सुरु हुँदै छ । पहिलो र दोस्रो संस्करण अत्यधिक रूपमा सफल भएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) समक्ष तेस्रो एनपिएल अझ बढी उत्कृष्ट गर्ने ठुलो चुनौती तेर्सिएको छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइतबार आयोजित पत्रकार सम्मेलनमा एनपिएल तेस्रो संस्करणसम्म पुग्दा अझ विशिष्ट बन्ने बताए । “उत्कृष्ट खेलाडीहरूको सहभागिता, डिआरएसको आगमन र एनपिएलमा बढ्दै गएको कारोबारले यो प्रतियोगिता थप विशिष्ट बन्ने छ,” उनले भने । यसै गरी यो एनपिएल रसुवा बाढीले दिएको पीडालाई भुलाउने माध्यम हुन सक्ने उनको भनाइ छ ।
क्यानका सचिव तथा प्रतियोगिता संयोजक पारस खड्काले पनि आइसिसी मान्यता भइसकेपछि करिब एक महिना हुने एनपिएललाई सफल बनाउन सबै सरोकारवालाको जिम्मेवारी अझ बढेको बताए । “हामी इतिहास रच्ने मौकामा उभिएका छौँ,” उनले भने । हुन पनि यसपालि आइसिसीको आधिकारिक मान्यता, डिआरएस प्रविधिको पहिलो पटक प्रयोग, विदेशी खेलाडीको अनुबन्धमा थप सहजताका साथै स्टार क्रिकेटरहरूको जमघट र त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्तरोन्नतिले एनपिएलको चर्चा थप चुलिएको छ ।
विगतकै आठ फ्रेन्चाइज टोली टिम च्याम्पियन लुम्बिनी लायन्स, पछिल्ला दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्स, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्ने छन् । सबै टिमले टिम अक्सन र विश्वका सुपरस्टार क्रिकेटरहरू आबद्ध गरेर एक से एक टिम तयार पारेका छन् । यसपालि हरेक टिमसमक्ष कम्तीमा छदेखि बढीमा आठ जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । अन्तिम ११ मा सात नेपाली र चार विदेशी खेलाडी अनिवार्य समावेश गर्नुपर्ने नियम छ । यद्यपि यसपालि हरेक टिमसमक्ष अझ धेरै विदेशी खेलाडीको विकल्प उपलब्ध भएको छ ।
तेस्रो एनपिएलको सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मङ्सिर ५ गते उपाधि भिडन्त हुने छ ।


