सल्यान । नेपालीको महान् चाड बडादसैँ सुरु भइसक्दा पनि सल्यानका स्क्रब टाइफस प्रभावित क्षेत्रमा चाडपर्वको उल्लास देखिन सकेको छैन । एकातिर संक्रमण फैलिने क्रम नरोकिँदा बिरामी र उनीहरूका आफन्त ज्यान जोगाउने चिन्तामा छन् भने अर्कोतिर संक्रमणकै कारण परिवारका सदस्य गुमाएका घरमा शोक छ । रोगको त्रास र आफन्त गुमाउनुको पीडाले प्रभावित गाउँबस्तीमा दसैँको रौनक ओझेलमा परेको छ ।
जिल्लामा पछिल्ला दिनमा पनि स्क्रब टाइफसको संक्रमण देखिने क्रम जारी छ । असोज २९ गते मात्रै ३६ जनाको परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १३ जना महिला र तीन जना पुरुष छन् । यसअघि असोज २८ गते सरकारी स्वास्थ्य संस्थामा परीक्षण गरिएका ४१ जनामध्ये १० जनामा संक्रमण पुष्टि भएको थियो । निजी स्वास्थ्य संस्थामा परीक्षण गरिएका चार जनामध्ये तीन जनामा संक्रमण देखिएको थियो ।
हालसम्म जिल्लाका सरकारी तथा निजी स्वास्थ्य संस्थामा गरिएको परीक्षणमा ७८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
लगातार दुई वर्षदेखि स्क्रब टाइफसको संक्रमण देखिँदै आएको दार्मा गाउँपालिकामा यस वर्ष संक्रमण र मृत्युका घटनाले स्थानीयलाई थप त्रसित बनाएको छ । दार्मा गाउँपालिका–५ का वडाध्यक्ष सुदीप केसीका अनुसार गत वर्ष चार जनाको मृत्यु भएको यस क्षेत्रमा यस वर्ष पनि आठ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमितमध्ये धेरैले उपचारका क्रममा सास्ती भोग्नुपरेको र रोगले निरन्तर दुःख दिइरहेकाले स्थानीयमा भय बढेको उहाँले बताउनुभयो । रोगको जोखिमका कारण चाडपर्व मनाउनुभन्दा परिवारका सदस्यलाई सुरक्षित राख्ने चिन्ता स्थानीयमा बढी देखिएको छ ।
असोज २९ गतेसम्म सल्यानका सरकारी तथा निजी स्वास्थ्य संस्थामा महिला दुई हजार २१३ र पुरुष एक हजार १६७ गरी तीन हजार ३८० जनाको स्क्रब टाइफस परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये महिला ६१७ र पुरुष १६८ गरी ७८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले जानकारी दिनुभयो ।
सरकारी स्वास्थ्य संस्थामा महिला एक हजार ९७८ र पुरुष एक हजार १७ गरी दुई हजार ९९५ जनाको परीक्षण गर्दा महिला ५३१ र पुरुष १४९ गरी ६८० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, निजी स्वास्थ्य संस्थामा महिला २३५ र पुरुष १५० गरी ३८५ जनाको परीक्षण गर्दा महिला ८६ र पुरुष १९ गरी १०५ जनामा संक्रमण देखिएको छ ।
दार्मा गाउँपालिकामा सबैभन्दा बढी संक्रमण देखिएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार स्क्रब टाइफसका कारण हालसम्म नौ जनाको मृत्यु भएको छ । मृतकमध्ये दार्मा गाउँपालिकाका सात जना पुरुष र एक जना महिला तथा छत्रेश्वरी गाउँपालिकाकी एक जना महिला छन् । दार्मामा हालसम्म २८७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसपछि बागचौर नगरपालिकामा २४५ जना संक्रमित भएका छन् । संक्रमण र मृत्युका घटनाले यी क्षेत्रका बासिन्दामा रोगको जोखिमप्रति चिन्ता बढाएको छ ।
जनस्वास्थ्य अधिकृत रिजालका अनुसार विज्ञ टोलीले गरेको प्रारम्भिक अध्ययनमा बिरामीलाई ज्वरो आएपछि समयमै स्वास्थ्य संस्थामा नलैजाने र सुरुमा निजी क्लिनिकमा पुगेर एन्टिबायोटिकको सुई लगाउने प्रवृत्तिले समस्या जटिल बनाएको देखिएको छ । उहाँका अनुसार यस्तो अवस्थामा रोगको संक्रमण प्रभावकारी रूपमा नियन्त्रण हुन नसक्दा बिरामीको अवस्था बिग्रन सक्ने जोखिम रहन्छ ।
रिजालका अनुसार स्क्रब टाइफसको उपचारमा प्रभावकारी औषधि प्रयोग गर्दा सामान्यतया ४८ घण्टाभित्र ज्वरो नियन्त्रणमा आउन सक्छ । करिब ४० रुपियाँ पर्ने औषधी नियमित रूपमा तीन दिन सेवन गर्दा रोग निको पार्न सकिने उहाँले बताउनुभयो । यद्यपि, औषधीको छनोट र सेवन चिकित्सकको सल्लाहअनुसार गर्नुपर्ने हुन्छ ।
संक्रमण फैलिन थालेपछि स्वास्थ्य सेवा कार्यालयले आकस्मिक कोषबाट पाँच सय परीक्षण किट र औषधीको व्यवस्था गरी परीक्षण सुरु गरेको थियो । त्यसपछि प्रदेश सरकारबाट एक हजार २०० र सङ्घीय सरकारबाट करिब एक हजार परीक्षण किट तथा आवश्यक औषधी प्राप्त भएको थियो । तर, संक्रमण अझै कायम रहेकाले आगामी केही दिनभित्र पुनः परीक्षण किट र औषधी माग्नुपर्ने अवस्था आएको कार्यालयले जनाएको छ ।
सल्यानमा तीव्र रूपमा फैलिएको स्क्रब टाइफस नियन्त्रणका लागि सङ्घ, प्रदेश र स्थानीय तह तथा अन्य सरोकारवालासँग समन्वय गरी स्वास्थ्य सेवा कार्यालयले रोग पहिचान, उपचार तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
ङ्घीय तथा प्रदेश सरकारका विज्ञ टोलीले पनि रोगको अवस्थाबारे विस्तृत अध्ययन गरिरहेको बताइएको छ । स्क्रब टाइफस फैलाउने माइटको लार्भा, माटो, झाडी र ओसिलो वातावरणसँग सम्बन्धित जोखिमबारे अध्ययन भइरहेको छ । दार्मा गाउँपालिकामा मात्रै आठ जनाको मृत्यु हुनुमा स्क्रब टाइफससँगै अन्य रोगको समेत भूमिका छ कि छैन भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
चिकित्सकहरूका अनुसार स्क्रब टाइफस संक्रमित माइटको लार्भाको टोकाइबाट मानिसमा सर्न सक्छ । यो रोग ओरिएन्टिया सुसुगामुसी नामक ब्याक्टेरियाका कारण लाग्छ । लगातार उच्च ज्वरो आउने, टाउको दुख्ने, अत्यधिक थकाइ लाग्ने, पसिना आउने, घाँटीका ग्रन्थि सुन्निने र पाँचदेखि सात दिनभित्र शरीरमा रातो बिमिरा देखिने यसका प्रमुख लक्षण हुन् । माइटले टोकेको ठाउँमा कालो दाग वा घाउ देखिन पनि सक्छ ।
समयमै उपचार नभए यस रोगले मिर्गौला, फोक्सो र मस्तिष्कमा असर पुर्याउन सक्छ र ज्यानसमेत जान सक्छ । त्यसैले ज्वरो आएमा वा यस्ता लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन र चिकित्सकको सल्लाहअनुसार औषधी सेवन गर्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।
खेतबारी वा झाडीमा काम गर्दा शरीर ढाक्ने कपडा लगाउने, घरवरिपरि सरसफाइ कायम राख्ने र मुसा नियन्त्रणका उपाय अपनाउने हो भने संक्रमणको जोखिम घटाउन सकिने स्वास्थ्यकर्मीहरूको सुझाव छ । गोरखापत्रबाट


