काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) तथा निर्वाचन निर्देशिका, २०८२ बमोजिम सम्पन्न पार्टीको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापति पदमा निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज २४ गते सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन् ।
निर्वाचन समितिका अनुसार कुल सात हजार १३ मत खसेकोमा ५४ मत बदर भएको थियो। कायम मत सङ्ख्या छ हजार ९५९ रहेको निर्वाचन परिणाममा उल्लेख छ।
निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्कासहित सदस्य सचिव राजु कटवाल र सदस्य सुजन लोप्चनले हस्ताक्षर गरी निर्वाचन परिणाम सार्वजनिक गरेका हुन् । थापा यस अघि भएको विशेष महाधिवेशनबाट पनि सभापति पदमा निर्वाचित भएका थिए ।


