थारू समुदायको दशैँ तिथि र विधि तय, कात्तिक एक गते ढिक्री पूजा गर्ने

घोराही । थारू समुदायले यस वर्षको दशैँमा कात्तिक एक गते ढिक्री पूजा गर्ने भएका छन् । दशैँ मनाउने तिथि र विधिमा देखिएको अन्योल हटाउन शुक्रबार घोराहीमा भएको थारू अगुवाहरूको छलफलले पर्व मनाउने मिति र परम्परागत विधि तय गरेको हो ।

थारू अगुवा, मटाँवा, पुर्खा, बुद्धिजीवी, देशबन्ध्या गुर्वा, घरगुर्वा, अध्येता, पत्रकार तथा थारू कल्याणकारिणी सभाका प्रतिनिधिहरूको सहभागितामा भएको छलफलले दशैँ मनाउने तिथि र विधिमा एकरूपता कायम गर्ने निर्णय गरेको हो ।

थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीका अनुसार असोज २५ गते जमरा राख्ने, असोज ३१ गते पैनस्टोपी, ढक्या र गोन्द्री धुने तथा कात्तिक एक गते ढिक्री पूजा गर्ने निर्णय भएको छ ।

त्यसैगरी, कात्तिक दुई गते पित्तर दिने, भुह्यारथानमा बर्कीमार लगाउने, जमरा र बेबरी लगाउने तथा मटाँवाको घरमा गउँल्या टीका लगाउने निर्णय गरिएको उनले जानकारी दिए ।

मटाँवा बरघर भलमन्सा सङ्घ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा भएको छलफलमा थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीको विशेष उपस्थिति थियो ।

छलफलले तय गरेको तिथि र विधिअनुसार दशैँ मनाउन थारू कल्याणकारिणी सभा, मटाँवा, बरघर, भलमन्सा सङ्घलगायत थारू सङ्घसंस्थाले समुदायलाई आग्रह गरेका छन् । सहभागीहरूले थारू समुदायको मौलिक संस्कृति, परम्परा र धार्मिक विधिको संरक्षण गर्दै पुर्खादेखि चलिआएको चलनअनुसार दशैँ मनाउनुपर्नेमा जोड दिएका थिए ।

छलफलमा थारू कल्याणकारिणी सभाका केन्द्रीय सचिवालय सदस्य भुवन चौधरी, केन्द्रीय सदस्य रामबहादुर दहित, मटाँवा सङ्घका बुझौना चौधरी, थारू संस्कृतिविद् बेझलाल चौधरी, थारू अध्येता डा. जर्मन चौधरी, लोकजन चौधरी र आशाराम चौधरीलगायतले धारणा राखेका थिए । गाेरखापत्रबाट

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस