आगामी तीन दिनसम्म मौसम प्रतिकूल रहने

काठमाडौं । देशको विभिन्न क्षेत्रमा बुधबार हावाहुरीसँगै मेघगर्जन, चट्याङ र वर्षा भइरहेको छ । मौसमविद्का अनुसार मनसुन बाहिरिने क्रमसँगै पश्चिमी वायुको प्रभावसमेत रहेकाले आगामी तीन दिनसम्म मौसम स्थिर नहुने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौं उपत्यकामा आज मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेशको केही स्थानमा भारी वर्षासमेत हुनसक्ने उनले बताए ।

“आज धेरैजसो ठाउँमा मध्यम वर्षा हुने देखिन्छ, कतैकतै भारी वर्षासमेत हुन सक्छ” मौसमविद् लामिछानेले भने । विभागका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

देशको विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ । पछिल्लो केही घण्टामा चितवन, पाल्पा र कैलाली आसपासका क्षेत्रमा भारी वर्षा भएको मौसमविद् लामिछानेले जानकारी दिए । नवलपुर, तनहुँ, गोरखा, अर्घाखाँची र रूपन्देहीलगायत क्षेत्रमा समेत मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको उनले बताए ।

मौसमविद् लामिछानेका अनुसार आजको तुलनामा बिहीबार केही सुधार देखिए पनि पहाडी र तराईका विभिन्न स्थानमा वर्षाको सम्भावना कायमै रहनेछ । शुक्रबारसम्म विभिन्न स्थानमा बदलीसँगै मेघगर्जन, चट्याङ र वर्षाको गतिविधि दोहोरिन सक्ने उनको भनाइ छ ।

उनका अनुसार वर्षा लामो समय निरन्तर भइरहनेभन्दा छोटो समयमा तीव्र हुने र केही समयपछि रोकिने प्रकृतिको हुनेछ । शनिबारदेखि भने मौसममा क्रमिक सुधार हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस