सल्यानमा विद्यालय जाने क्रममा भिरबाट लडेर छात्राको मृत्यु

सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका–२ दमदुरी जंगलमा विद्यालय जाने क्रममा भिरबाट लडेर १४ वर्षीया छात्राको मृत्यु भएको छ। छत्रेश्वरी–२ दहगाउँका जीवराज वलीकी छोरी प्रमिला वलीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक ईश्वर रोकायले जानकारी दिए ।

जनता माध्यमिक विद्यालय गुराँसेमा कक्षा १० मा अध्ययनरत प्रमिला बुधबार बिहान करिब ८ बजे विद्यालय जाने क्रममा बाटोबाट लडेर करिब २५० मिटर तल खसेकी थिइन् ।

स्थानीयले अचेत अवस्थामा फेला पारेपछि परिवारलाई खबर गरेका थिए। उद्धार गरी उपचारका लागि स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक रोकायले बताए। घटनालगत्तै उपचारका लागि एम्बुलेन्सको व्यवस्था गरिए पनि अस्पताल पुग्नुअघि नै मृत्यु भएको हो।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दमाचौर, इलाका प्रहरी कार्यालय थारमारे र जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। वडाध्यक्ष प्रेमबहादुर नेपालीले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस