मनसुन बाहिरिँदै गर्दा पनि वर्षा कायमै, आज र भोलि पनि पानी पर्ने

काठमाडौं । मनसुन नेपालबाट बाहिरिने क्रम सुरु भए पनि आज पहाडी भेगका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायु, स्थानीय वायु, पूर्वी नेपालमा कायम मनसुनी प्रणालीका साथै बंगालको खाडी र अरेबियन सागरबाट जलवाष्पयुक्त वायु आइरहेकाले वर्षाको गतिविधि बढेको मौसमविद डा. विनोद पोखरेलले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. पोखरेलका अनुसार हिजोको तुलनामा आज र भोलि वर्षा हुने क्षेत्र र मात्रा धेरै हुने सम्भावना छ ।

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पनि एक–दुई दिन वर्षाका गतिविधि जारी रहने जनाएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज बिहानपख वर्षा रोकिए पनि दिउँसोदेखि वर्षाको गतिविधि बढ्ने छ ।

उनका अनुसार आज हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । आज नै पश्चिमी भूभागमा एक–दुई स्थानमा खण्डित रुपमा भारी वर्षाको पनि सम्भावना रहेको उनले जानकारी दिए ।

आगामी तीन दिनसम्मै वर्षा जारी रहने सम्भावना छ । खासगरी सुदूरपश्चिम, कर्णाली तथा तराईको मधेश र कोशी प्रदेशका केही स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ । केही स्थानमा भारी वर्षा पनि हुनसक्ने पूर्वानुमान छ ।

महाशाखाले जारी गरेको बुलेटिनमा आज खासगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा पनि आज मेघगर्जनरचट्याङ्ग सहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ ।

गत १२ घण्टाको अवधिमा कैलाली, बर्दिया र दाङमा भारी वर्षा भएको छ । सबैभन्दा धेरै वर्षा कैलालीको बलियामा १००.४ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी बर्दियाको दौलतपुरमा ६८.२ र दाङको जलकुण्डीमा ७०.६ मिलिमिटर वर्षा मापन भएको छ । खासगरी कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ ।

प्रकाशित मिति : २०८३ असोज २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस