मौलिक थारू परिकारलाई व्यवसायसँग जोड्दै ‘ढिक्री घर’

उदीराम चौधरी, घोराही । थारू समुदायको मौलिक खानपान र परम्परागत परिकार पछिल्लो समय व्यवसायसँग जोडिन थालेका छन् । पुस्तौँदेखि थारू समुदायको घर–घरमा पाक्दै आएका ढिक्री, घोंघी, अनदीको भात, भक्का, माछा, हाँस तथा स्थानीय कुखुराको मासुलगायत परिकारलाई व्यावसायिक रूपमा प्रवर्द्धन गर्ने क्रम बढेको हो ।

थारू समुदायको मौलिक खानपानलाई बजारसँग जोड्ने उद्देश्यले घोराहीको तुलसीपुर चोकमा ‘ढिक्री घर’ सञ्चालनमा आएको छ । थारू समुदायको परम्परागत खानपानलाई व्यावसायिक स्वरूप दिँदै नयाँ पुस्तासम्म मौलिक स्वाद र परिकारको पहिचान पुर्याउने उद्देश्यले ढिक्री घर सञ्चालनमा ल्याइएको सञ्चालकले बताएका छन् ।

ढिक्री घर उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले थारू समुदायका मौलिक परिकारलाई आम्दानीको स्रोतसँग जोड्नुपर्ने बताए । परम्परागत सीप र खानपानलाई व्यवसायमा रूपान्तरण गर्न सके समुदायको संस्कृति संरक्षणसँगै रोजगारी र आयआर्जनको अवसरसमेत सिर्जना हुने उनको भनाइ छ ।

“थारू समुदायका परिकारलाई बजारीकरण गरेर आम्दानीको स्रोत बनाउनुपर्छ,” उनले भने, “यस्ता परिकार बनाउन सीप र क्षमता भएका व्यक्तिले रोजगारी पाउने वातावरणसमेत बन्न सक्छ ।”

थारू समुदायको खानपान केवल भोजनको विषय नभई समुदायको संस्कार, संस्कृति र जीवनशैलीसँग जोडिएको महत्वपूर्ण पक्ष भएको चौधरीले बताए । यस्ता मौलिक परिकारको अध्ययन तथा अनुसन्धान गर्नेहरूका लागि समेत व्यवसायिक केन्द्रहरू महत्वपूर्ण आधार बन्न सक्ने उनको भनाइ छ ।

ढिक्री थारू समुदायको महत्वपूर्ण मौलिक परिकार भएको उल्लेख गर्दै उनले परम्परागत खानालाई व्यवसायसँग जोड्नु सकारात्मक प्रयास भएको बताए । खानपानसँगै थारू संस्कृतिसँग सम्बन्धित कार्यक्रमसमेत सञ्चालन गर्न सके घोराहीमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने उनको भनाइ छ ।

ढिक्री घरका सञ्चालक रोशन रत्गैयाले थारू समुदाय संस्कार, संस्कृति, खानपान र रहनसहनका हिसाबले समृद्ध भए पनि मौलिक परम्परा र खानपानका धेरै पक्ष पछिल्लो पुस्तामा हराउँदै गएको बताए । त्यस्ता परिकारको संरक्षणसँगै व्यावसायिक प्रवर्द्धन गर्ने उद्देश्यले ढिक्री घर सञ्चालनमा ल्याइएको उनले बताए ।

“थारू समुदायको खानपान हाम्रो पहिचान हो,” उनले भने, “घरभित्र मात्रै सीमित रहेका मौलिक परिकारलाई व्यवसायसँग जोड्न सके संस्कृति संरक्षणसँगै आर्थिक गतिविधि पनि बढाउन सकिन्छ ।”

घोराही बजारमा विभिन्न समुदायका खानपान र रेस्टुरेन्टको उपस्थिति बढ्दै गए पनि थारू समुदायका मौलिक परिकारको व्यावसायिक उपस्थिति तुलनात्मक रूपमा कमजोर रहेको रत्गैयाले बताए । त्यसलाई सम्बोधन गर्दै थारू परिकारलाई व्यवस्थित रूपमा बजारमा ल्याउने प्रयास गरिएको उनको भनाइ छ ।

ढिक्री घरमा थारू समुदायको पहिचानसँग जोडिएका विभिन्न मौलिक परिकार उपलब्ध हुने सञ्चालक जितेन्द्र चौधरीले बताए । उनका अनुसार ढिक्रीसँगै घोंघी, अनदीको भात, भक्का, सुँगुरको मासु, हाँसको मासु, माछा, स्थानीय कुखुराको मासु, गङ्गटालगायत परिकार उपलब्ध गराइनेछ ।

“थारू समुदायको पहिचानका रूपमा रहेका मौलिक खानालाई एउटै ठाउँमा उपलब्ध गराउने हाम्रो प्रयास हो,” उनले भने, “यसले खानपानलाई व्यवसायसँग जोड्नुका साथै हाम्रो मौलिक स्वाद र पहिचान संरक्षण गर्न सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।”

थारू समुदायमा परम्परागत रूपमा बनाइँदै आएका यस्ता परिकार पछिल्लो समय घरायसी प्रयोगबाट बजारसम्म आइपुग्न थालेका छन् । यसले एकातर्फ मौलिक खानाको स्वाद नयाँ पुस्ता र अन्य समुदायसम्म पुर्याउने अवसर सिर्जना गरेको छ भने अर्कोतर्फ थारू समुदायका परम्परागत सीपलाई आयआर्जनसँग जोड्ने बाटोसमेत खोलिदिएको छ ।

विशेषगरी ढिक्री, भक्का, अनदीको भात, घोंघी तथा विभिन्न स्थानीय माछा–मासुका परिकार थारू समुदायको खानपान संस्कृतिका महत्वपूर्ण हिस्सा मानिन्छन् । यस्ता परिकारको व्यावसायिक उत्पादन र बजारीकरण बढाउन सके स्थानीय उत्पादनको खपत बढ्नुका साथै परम्परागत सीप भएका परिवार तथा समुदायका सदस्यले समेत आर्थिक लाभ लिन सक्ने सम्भावना छ ।

दाङमा पछिल्लो समय थारू परिकारलाई व्यवसायसँग जोड्ने प्रयास बढिरहेको छ । घोराहीमा कविला रिसोर्ट, तुलसीपुरमा थारू मिन्हीघर, थारू किचेन, थारुगढ, दङ्गीशरणमा थारू होमस्टे तथा शान्तिनगरमा थारू सांस्कृतिक होमस्टेलगायतका व्यवसाय सञ्चालनमा आएपछि थारू समुदायको मौलिक खानपानलाई बजारसँग जोड्ने अभ्यास विस्तार हुँदै गएको छ ।

यसरी थारू समुदायका मौलिक परिकारलाई व्यावसायिक बनाउने प्रयासले परम्परागत खानाको संरक्षण, नयाँ पुस्तामा हस्तान्तरण, स्थानीय उत्पादनको प्रवद्र्धन, रोजगारी सिर्जना र पर्यटन विकासलाई समेत जोड्न सक्ने देखिन्छ ।

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस