काठमाडौं । नेपाल मौसम विज्ञान विभागले पूर्वी भूभागमा आजबाट पानी पर्न कम हुने जनाएको छ । तर पश्चिमी भूभागमा भने आज र भोलि पनि वर्षा निरन्तर हुने सम्भावना रहेको विभागले जनाएको छ ।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पूर्वबाट क्रमशः पश्चिमतिर सर्दै गएकाले पश्चिमको तुलनामा पूर्वी भागमा वर्षाको मात्रा कम हुँदै गएको मौसमविद रोजन लामिछानेले जानकारी दिए ।
‘पूर्वमा बादल लाग्ने र हल्का वर्षा हुने सम्भावना छ । तर पश्चिममा भने आज र भोलि पनि भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ,’ लामिछानेले भने ।
उनका अनुसार भोलि साँझसम्म पनि पश्चिम क्षेत्रमा वर्षाको सम्भावना छ । भोलि दिउँसो वा साँझदेखि पूर्वी भूभागमा मौसममा उल्लेखनीय सुधार देखिने उनले बताए । कतै कतै बादल लाग्ने र हल्का वर्षा हुने भए पनि ठूलो पानी नपर्ने उनको भनाइ थियो ।
‘काठमाडौं उपत्यकाको हकमा केहीबेर आकाश खुल्ने र बादल लाग्ने हुन्छ तर अघिल्ला दिनहरु जस्तो लगातार वर्षाको सम्भावना छैन,’ मौसमविद लामिछानेले भने । सोमबारदेखि भने काठमाडौं उपत्यकासहित पूर्वी भूभागमा मजाले आकाश खुल्ने सम्भावना रहेको उनले बताए ।
मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा गुल्मीको भार्से मौसम मापन केन्द्रमा सबैभन्दा धेरै ११४ मिलिमिटर वर्षा भएको छ । पछिल्लो १२ घण्टामा पाल्पाको अर्चलेमा २४७ मिलिमिटर वर्षा मापन भएको छ । यो भनेको अति भारी वर्षा हो ।
पश्चिमी भूभागमा वर्षा धेरै वर्षा हुने पूर्वानुमान अनुसार २५ जिल्ला बाढीपहिरोको उच्च जोखिममा छन् । बाढी पहिरोको उच्च जोखिममा रहेका कारण ती जिल्लाहरूमा सवारी साधन राति र दिउँसो दुवै समयमा पूर्णरुपमा बन्द गर्न गरिएको छ ।
पहेँलो रङले संकेत गरिएका २३ जिल्लाहरूमा सतर्क रहन भनिएको छ ।


