काठमाडौं । सरकारले सुरक्षा निकायसँग मिल्दाेजुल्दाे संस्था दर्ता गर्न राेक लगाएकाे छ । सुरक्षा निकायको नाम, पोशाक, संकेत, चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो बनाएर संस्था दर्ता गराउन रोक लगाएको छ ।
गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गरेर सुरक्षा निकायको नाम, पोशाक, संकेत, चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो व्यवस्था रहेका संस्थाहरूको सम्बन्धमा नवीकरण गर्नुअघि जानकारी गराउन भनेको छ ।
देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई उक्त परिपत्र जारी गर्दै मन्त्रालयले त्यस्ता संस्थाहरू नवीकरण गर्दा संस्थाको विधानमा आवश्यक परिमार्जनरसंशोधन गरे नगरेको, यदी गरिएको भए त्यसबारे जानकारी गराउन पनि भनेको छ ।
यसअघि नेपाली सेनाको पोशाकसँग मिल्दोजुल्दो गरेर ग्रिन आर्मी नामक संस्थाले रसुवा बाढीका क्रममा राहत तथा खोजी उद्धारमा टोली नै सक्रिय बनाएको थियो । उक्त विषयमा विभिन्न आलोचना पनि भएको थियो । उक्त संस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पनि दर्ता भएको छ ।
ग्रिन आर्मीले नेपाली सेनाको झै मिल्दोजुल्दो पोशाक, दर्जा र चिन्ह प्रयोग गरेकाले त्यसलाई रोक्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो ।


