प्रतिनिधिसभाबाट बाढीबारे विशेष प्रस्ताव पारित

काठमाडौं । रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डीपी अर्यालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले पारित गरेको हो । भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा विनावशकारी बाढी आएको थियो ।

उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित छ । बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जना गरी १ हजार ११४ जनाको शव फेला परेको हो ।

३ हजार ९१६ जना सम्पर्कविहीन छन् । २९२ जना घाइते भएका छन् । हालसम्म बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । यो अवस्थाबारे प्रतिनिधिसभामा बुधबार प्रधानमन्त्री बालेनले ब्रिफिङ समेत गरेका छन् ।

प्रधानमन्त्री बालेनले यतिबेला शरिर थकित भयो भनेर विश्राम लिने छुट नरहेको बताए । मन भक्कान्दिा पनि एक आपसमा सेयर गर्ने समय नरहेको बताए । अनि सरकारले गरेका कामहरूबारे जानकारी गराए । त्यसपछि राजनीतिक दलका नेताहरूले सम्बोधन गरे । नेताहरूको सम्बोधनपछि सभामुख अर्यालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।

मंगलबार राष्ट्रिय सभाले पनि रसुवा बाढीबारे विशेष प्रस्ताव पारित गरेको थियो ।

प्रकाशित मिति : २०८३ भाद्र १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस