दाङमा एचआईभीको नयाँ सङ्क्रमण घट्यो

घोराही । दाङमा नयाँ एचआईभी सङ्क्रमितको सङ्ख्या घटेको छ। स्वास्थ्य कार्यालय दाङको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कले नयाँ सङ्क्रमण निरन्तर घट्दै गएको देखाएको छ।

स्वास्थ्य कार्यालय दाङको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा दाङमा ४२ जना नयाँ एचआईभी सङ्क्रमित भेटिएका थिए। उक्त सङ्ख्या आर्थिक वर्ष २०८१/८२ मा घटेर ३७ जनामा पुगेकोमा आर्थिक वर्ष २०८२/८३ मा ३१ जनामा झरेको छ।

नयाँ सङ्क्रमण घट्दै गए पनि दाङमा एचआईभी सङ्क्रमितको कुल सङ्ख्या भने बढ्दो क्रममा देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा ४२९ जना रहेको एचआईभी सङ्क्रमितको सङ्ख्या २०८१/८२ मा ४५८ पुगेको थियो। नयाँ ३१ जना थपिएसँगै आर्थिक वर्ष २०८२/८३ मा यो सङ्ख्या बढेर ४८७ पुगेको स्वास्थ्य कार्यालय दाङको तथ्याङ्कले देखाएको छ।

स्वास्थ्य कार्यालय दाङका क्षय, कुष्ठ तथा पोषण रोग फोकल पर्सन गजेन्द्र यादवका अनुसार एचआईभी सङ्क्रमितका लागि उपलब्ध एआरटी उपचार सेवामा रहेका व्यक्तिको सङ्ख्या पनि क्रमशः बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा ४२९ जना एआरटी सेवामा रहेकोमा २०८१/८२ मा ४५८ जना र २०८२/८३ मा ४८७ जना पुगेका छन्। तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा दाङमा नयाँ एचआईभी सङ्क्रमण रोकथामतर्फ सकारात्मक सङ्केत देखिएको उनले बताए ।

एचआईभीसम्बन्धी नागरिकमा बढेको सचेतनाका कारण नयाँ सङ्क्रमितको सङ्ख्या ४२ बाट ३१ मा झरेको भन्दै यादवले एचआईभी सङ्क्रमण नियन्त्रण तथा सचेतना कार्यक्रमका लागि यो सकारात्मक उपलब्धि भएको बताए। एचआईभी सङ्क्रमितलाई पहिचान गरी उपचारको दायरामा ल्याउने क्रमसमेत बढेको उनको भनाइ छ।

स्वास्थ्य क्षेत्रमा एचआईभीको जोखिम न्यूनीकरणका लागि नियमित परीक्षण, समयमै उपचार, सुरक्षित यौन व्यवहार तथा समुदायस्तरमा निरन्तर जनचेतना आवश्यक रहेको उनले बताए ।

दाङमा एचआईभीको नयाँ सङ्क्रमण घटाउने उपलब्धिलाई कायम राख्दै उपचारमा रहेका सङ्क्रमितलाई नियमित सेवामा जोडिराख्न सके जिल्लामा सङ्क्रमणदर क्रमशः घट्दै जाने शाखा प्रमुख यादवले बताए । साथै, भारतमा कामका लागि जाने नागरिकमा एचआईभी सङ्क्रमण बढी देखिएको उनले जानकारी दिए।

दाङमा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा एचआईभी परीक्षणसँगै सङ्क्रमितलाई नियमित उपचार सेवा प्रदान गरिँदै आएको छ।

स्वास्थ्य कार्यालय दाङका अनुसार पछिल्लो तीन वर्षमा १९ हजार ४८१ जना गर्भवती महिलाको एचआईभी परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण देखिएको छ। गोरखापत्रबाट

प्रकाशित मिति : २०८३ भाद्र १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस