भोटेकोशीमा ठूलो बाढीको जोखिम छैन: बाढी पूर्वानुमान महाशाखा

काठमाडौं । रसुवाको भोटेकोशीमा पानीको बहाव बढेसँगै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरे पनि, बाढी पूर्वानुमान महाशाखाले हाल तटीय क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको छ।

यसअघि बिहान ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको भन्दै रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेका थिए ।

तर, बाढी पूर्वानुमान महाशाखाले भदौ १४ गते बिहान ५ः४५ बजे एक अद्यावधिक सूचना जारी गर्दै त्रासपूर्ण अवस्था नरहेको प्रस्ट पारेको छ। महाशाखाले जारी गरेको सूचनाअनुसार, जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचनाअनुसार भोटेकोशी नदीमा बाढीको बहाव केही बढेको छ।

प्राप्त सूचनाअनुसार हाल नुवाकोटमा पनि बाढी केही बढेको छ, तर यो ठूलो छैन। नदी किनारा नजिक रहेका स्थानीयहरूले बाढी बढे पनि पहिलाको जस्तो नभएको भन्दै श्रव्य–दृश्य सामग्री सामाजिक सञ्जालमा प्रसारण गरिरहेका छन् ।

यसै सूचनालाई आधार मानी हाललाई रसुवा, नुवाकोट, र धादिङसम्म नदी आसपासको क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको महाशाखाले जानकारी गराएको छ।

प्रकाशित मिति : २०८३ भाद्र १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस