त्रिशूली–३ ‘ए’ सुरुङको क्राउनसम्म उद्धार टोली पुग्यो, हावा पठाउन सुरु

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि महत्वपूर्ण काम अघि बढेको बताएका छन्। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा निरन्तर खटिएका गृहमन्त्री गुरुङले सुरुङको माथिल्लो भाग (क्राउन) सम्म पुग्न उद्धार टोली सफल भएको र त्यहाँबाट सानो प्वाल बनाएर सुरुङभित्र हावा पठाउन सुरु गरिएको जानकारी दिए ।

उनले सार्वजनिक गरेको सूचनामा भनिएको छ, “हामी सुरुङको माथिल्लो भाग (क्राउन) सम्म पुग्न सफल भएका छौँ। हामीले उक्त सानो प्वालबाट हावा पठाउन सुरु गरिसकेका छौँ र अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउने छौँ।”

सुरुङको माथिल्लो भागसम्म पहुँच स्थापित भएसँगै अब थप खन्ने काम अघि बढाइने र त्यसपछि उद्धार टोलीलाई सुरुङभित्र पठाएर फसेका व्यक्तिको उद्धार गर्ने तयारी भइरहेको गृहमन्त्री गुरुङले बताए ।

उनका अनुसार सुरुङभित्र रहेका व्यक्तिको जीवनरक्षालाई प्राथमिकतामा राख्दै उद्धार कार्यलाई तीव्रता दिइएको छ। सुरुङभित्र हावा पठाउने काम सुरु हुनुलाई उद्धार अभियानको महत्वपूर्ण प्रगतिको रूपमा लिइएको छ।

यसैबिच, बाढी तथा पहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उद्धार टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ। जोखिममा रहेका नागरिकको उद्धार, बेपत्ताको खोजी तथा प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई प्राथमिकता दिइएको छ।

त्रिशूली–३ ‘ए’ सुरुङको माथिल्लो भागसम्म पुगेर हावा पठाउने व्यवस्था मिलाइनु उद्धार कार्यका लागि महत्वपूर्ण उपलब्धि भएको जनाइएको छ।

प्रकाशित मिति : २०८३ भाद्र १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस