चितवन । भोटेकोशीमा आएको बाढीपछि चितवनस्थित नारायणी नदीमा फेला परेका बेवारिसे शवहरूलाई जमिनमुनि गाडेर व्यवस्थापन गरिने भएको छ। पहिचान हुन नसकेका र सडे–गलेको अवस्थामा रहेका शवहरूलाई ट्याग लगाएर तथा डीएनए संकलन गरेर देवघाटनजिकैको जंगलमा व्यवस्थापन गर्न लागिएको हो।
शवका कारण संक्रमण तथा महामारी फैलिन सक्ने उच्च जोखिमलाई ध्यानमा राख्दै व्यवस्थापनका लागि यो कदम चालिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए। उनका अनुसार शव भरतपुर महानगरपालिका–१ स्थित रामनगर–देवघाट सडक खण्डमा पर्ने जंगल क्षेत्रमा गाडिने छ।
शव व्यवस्थापनका लागि ठाउँसमेत तयार पारिसकिएको छ। सुरक्षाकर्मीको उपस्थितिमा दुई वटा डोजर प्रयोग गरेर जंगलको बीच भागमा खाल्डाहरू खनिएका छन्।
बाढीपछि चितवनमा भेटिएका २ सय ३३ वटा शवमध्ये हालसम्म ६ वटाको मात्रै पहिचान खुलेको छ।
प्रकाशित मिति : २०८३ भाद्र १३ गते शनिवार


