राष्ट्रिय साना सहरी खानेपानी महासंघको क्षमता अभिवृद्धि तालिम उद्घाटन

नवलपरासी । राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ, नवलपरासी जिल्ला समितिको आयोजनामा क्षमता अभिवृद्धि तालिमको उद्घाटन गरिएको छ। राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ नवलपरासीका अध्यक्ष गुप्तबहादुर केसीको अध्यक्षता तथा डिभिजन प्रमुख दिनेशकुमार साहाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यसैगरी विशिष्ट अतिथिहरूमा राष्ट्रिय साना सहरी खानेपानी महासंघका केन्द्रीय सदस्य तथा बर्दघाट खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष दिपक लम्साल, केन्द्रीय सदस्य तथा केरवानी खानेपानीका अध्यक्ष दिपक पौडेल, अँधेरीखोला खानेपानीका अध्यक्ष राजकुमार श्रेष्ठ, महासंघका पूर्वअध्यक्ष देवीदत्त सापकोटा, कृष्णहरि पौडेल, कुलदेवलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिभिजन प्रमुख दिनेशकुमार साहाले जिल्लाभरका खानेपानी आयोजनाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनमा उपभोक्ता संस्थाहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। उनले खानेपानी क्षेत्रको दिगो विकासका लागि उपभोक्ता संस्थाहरूको क्षमता अभिवृद्धि आवश्यक रहेकोमा जोड दिए।

त्यस्तै विशिष्ट अतिथि दिपक लम्सालले समुदायमा आधारित खानेपानी संस्थाहरूको वर्तमान अवस्था, महासंघको भूमिका तथा समितिहरूको काम, कर्तव्य र अधिकारका विषयमा धारणा राखे। उनले जिल्लाका सबै खानेपानी संस्थाको संस्थागत तथा प्राविधिक क्षमता विकासमा महासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए।

त्यस्तै दिपक पौडेलले खानेपानी नागरिकको मौलिक अधिकार भएकाले त्यसको संरक्षण र सुनिश्चितताका लागि महासंघ प्रतिबद्ध रहेको बताए। कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा खानेपानी संस्थाको सुदृढीकरणमा पनि महासंघले आवश्यक पहल गर्ने उनको भनाइ थियो।

अँधेरीखोला खानेपानीका अध्यक्ष राजकुमार श्रेष्ठले साना सहरी खानेपानी उपभोक्ता महासंघ आफ्नो छाता संगठनका रूपमा रहेको भन्दै महासंघले गर्दै आएको कामप्रति धन्यवाद व्यक्त गरे। उनले सरकारले गर्नुपर्ने कतिपय कामसमेत महासंघले समुदायस्तरमा गर्दै आएको उल्लेख गरे।

कार्यक्रममा कृष्णहरि पौडेलले खानेपानी सुरक्षा योजनाका विषयमा जानकारी गराएका थिए। उनले सुरक्षित तथा गुणस्तरीय खानेपानी सेवा प्रवाहका लागि खानेपानी संस्थाहरूले सुरक्षा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

तालिममा प्लम्बिङ, पानी शुद्धीकरण, व्यवस्थापकीय क्षमता तथा खानेपानी संस्थाको संस्थागत क्षमता अभिवृद्धिलगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको छ। तालिमका प्रशिक्षक इन्जिनियर विधान कडेल रहेका छन्।

तालिममार्फत सहभागी खानेपानी उपभोक्ता संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको प्राविधिक, व्यवस्थापकीय र संस्थागत क्षमता अभिवृद्धि हुने आयोजकले जनाएको छ। तालिममा जिल्लाका २२ वटा खानेपानी उपभोक्ता संस्थाबाट करिब ७५ जनाको सहभागिता रहेको छ।

प्रकाशित मिति : २०८३ भाद्र १० गते बुधवार
प्रतिक्रिया दिनुहोस