सल्यान । सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफस तथा ज्वरोका बिरामीको संख्या बढ्दै गएको छ। दार्मा गाउँपालिकामा पछिल्लो एक सातायता देखिएको संक्रमणका कारण एक जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढीमा स्क्रबटाइफस संक्रमण पुष्टि भएको छ।
दार्मा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार गाउँपालिका–५ निवासी ६९ वर्षीय तुलबहादुर खड्काको स्क्रबटाइफसका कारण मृत्यु भएको हो। ज्वरो आएपछि गरिएको स्वास्थ्य परीक्षणमा किटमार्फत स्क्रबटाइफस संक्रमण पुष्टि भएको थियो।
खड्कामा मधुमेहको समस्या समेत रहेको र फोक्सोमा पानी जमेको देखिएपछि चिकित्सकले थप उपचारका लागि रिफर गरेका थिए। उनलाई उपचारका लागि दाङ हुँदै नेपालगन्ज लगिएको थियो। उपचारपछि घर फर्कने क्रममा बाटोमै उनको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख बस्नेतले जानकारी दिए।
संक्रमणको अवस्था बढ्दै गएपछि शनिबार पनि एक जना बिरामीलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको उनले बताए। विशेषगरी गाउँपालिका–३ मा ज्वरो आएका अधिकांश बिरामीको परीक्षण गर्दा २५ जनाभन्दा बढीमा स्क्रबटाइफस संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ।
स्वास्थ्य शाखा प्रमुख बस्नेतका अनुसार दैनिक ज्वरोका बिरामी बढिरहेका छन्। परीक्षण गरिएका बिरामीमध्ये दैनिक चारदेखि पाँच जनासम्ममा स्क्रबटाइफस पुष्टि भइरहेको छ। अन्य वडामा समेत व्यापक रूपमा परीक्षण गरिए थप संक्रमित भेटिन सक्ने अनुमान गरिएको छ।
समस्या जटिल बन्दै गएपछि संक्रमण नियन्त्रण, परीक्षण तथा उपचार व्यवस्थापनका लागि प्रदेश र सङ्घीय सरकारका सम्बन्धित निकायसँग सहयोग माग्ने तयारी भइरहेको उनले बताए।
गत वर्ष पनि दार्मा गाउँपालिकामा स्क्रबटाइफसको संक्रमण व्यापक रूपमा फैलिएको थियो। गाउँपालिकाका अनुसार गत वर्ष पाँच सयभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो भने चार जनाको मृत्यु भएको थियो।


