काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा काठमाडौंमा माइतीघरमा पनि प्रदर्शन भएको छ ।
‘गरिमा चौधरीलाई न्याय दे, ११८ महिला प्रतिनिधिहरू मुर्दावाद, महिला बालबालिका आयोग कहाँ छ ?, बलात्कारीलाई फाँसी दे,’ लगायतका प्लेकार्ड बोकेर माइतीघरमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।
बालिका हत्याको विरोधमा जीतपुरसिमरा उपमहानगरपालिका भित्रका नीजि तथा सामुदायिक विद्यालयहरूले बिहीबार शोक सभा गरेर विद्यालय बन्द समेत भएको छ । सिमरामा अहिले पनि प्रदर्शन चलिरहेको छ ।
इलाका प्रहरी कार्यालय सिमरालाई बालिका हराएको सूचना समयमै दिँदा पनि खोजीमा चासो नदिँदा घटना भएको आरोप आन्दोलनरत स्थानीयले लगाएका छन्। प्रहरीले खोजीमा आवश्यक समन्वय नगरेको भन्दै आक्रोशित स्थानीयले सिमरा प्रहरीको नेतृत्व परिवर्तनको माग अघि सारेका छन्।
बालिका हराएको तीन दिनसम्म पनि प्रहरीले खोजी गर्न नसकेको र परिवारले किटानी जाहेरी दिएका व्यक्तिलाई समयमै अनुसन्धानको दायरामा नल्याएको आरोप उनीहरूको छ। मंगलबार साँझ बालिकाको शव भेटिएपछि प्रहरीले जीतपुरसिमरा–२ का दुई किशोरलाई पक्राउ गरिसकेको छ।
आन्दोलित स्थानीयले बिहीबार बिहानैदेखि उपमहानगरपालिका भित्रका ग्रामीण सडकहरूमा समेत टायर बालेर प्रदर्शन गरिरहेका छन् । यसअघि बुधबार दिउँसोबाट बन्द रहेको वीरगञ्ज–पथलैया सडक खण्डमा यातायात चल्न सकेको छैन ।


