भदौ अन्तिमदेखि नेपालगन्ज–पोखरा उडान सञ्चालन हुने

नेपालगन्ज । यही भदौ महिनाको अन्तिमदेखि बुद्ध एयरको नेपालगन्ज–पोखरा हवाई उडान पुनः सञ्चालन हुने भएको छ । विभिन्न कारण देखाउँदै गत जेठ ५ गतेदेखि सो उडान बन्द गरिएको थियो ।

पश्चिम नेपालको प्रमुख ट्रान्जिट सहर नेपालगन्जलाई देशकै प्रमुख पर्यटकीय सहर पोखरासँग जोड्दै आएको नेपालगन्ज–पोखरा नियमित उडान आगामी सेप्टेम्बर १६ अर्थात् भदौ ३१ गतेदेखि पुनः सञ्चालनमा आउने बुद्ध एयर नेपालगन्जका प्रमुख विनीतविक्रम शाहले बताए ।

उनले भारतको उत्तर प्रदेशलाई समेत पोखरासँग सोझै जोड्ने यस उडानका लागि पुनः माग बढ्दै गएकाले भदौको अन्तिमदेखि सञ्चालन गर्ने निर्णय भएको बताए । बुद्ध एयर नेपालगन्जका प्रमुख शाहका अनुसार भारतबाट आउने धार्मिक पर्यटकको संख्या न्यून हुनुका साथै इन्धन खर्च बढी भएका कारण गत जेठ ५ गतेदेखि नेपालगन्ज–पोखरा सिधा उडान स्थगित गरिएको थियो ।

एक महिनाका लागि उडान स्थगित गरेको सूचना प्रकाशित गरिए पनि बुद्ध एयरले करिब साढे तीन महिनापछि उडान पुनः सञ्चालन गर्न लागेको हो । आइतबार, बुधबार र शुक्रबार गरी साताको तीन दिन उडान हुने र बुकिङ खुला गरिएको बुद्ध एयर नेपालगन्जका प्रमुख शाहले जानकारी दिए ।

नेपालगन्ज–पोखरा हवाई उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन् । पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पश्चिम नेपालसँगै भारतका नागरिकलाई समेत पोखरासँग सिधै जोड्दै आएको यो उडान पर्यटन व्यवसायीका लागि निकै महत्वपूर्ण भएको बताए ।

उनले पुनः सञ्चालन हुने यो उडानबाट पोखरालगायतका स्थानीयलाई बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिकस्थलमा पुग्न सहज हुने बताए । साथै भारतसँगै बाँके, बर्दिया, दाङ र सुर्खेतलगायतका स्थानीयलाई पोखरा तथा मुस्ताङ पुग्न सहज हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८३ भाद्र ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस