तुलसीपुर । थारु कल्याणकारिणी सभा तुलसीपुर नगर समिति विस्तार गरिएको छ । आज तुलसीपुर स्थित नमुना भुह्यार थानमा थाकस तुलसीपुर नगर तदर्थ समितिको बैठकबाट १८ सदस्यीय समिति विस्तार गरिएको हो ।
यसअघि थाकस तुलसीपुर नगरको अधिवेसनबाट तदर्थ समिति गठन गरेको थियो । जसको सभापतिमा पुरन चौधरी रहेको छन् । तुलसीपुर नगरभित्रका सबै वडाहरुबाट प्रतिनिधित्व हुनेगरी समिति चयन गरिएको बताइएको छ ।
थाकस तुलसीपुर नगर समितिका सभापति पुरन चौधरीको अध्यक्षतामा बसेको बैठकमा थाकस केन्द्रीय पदाधिकारी, थाकस जिल्ला पदाधिकारी, थाकस क्षेत्र नं. ३ का पदाधिकारी, थारु अगुवा, महटावा, बुद्धिजीवी, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
बैठकले १८ सदस्यीय कार्य समिति चयन गरेको छ । जसको उपसभापतिमा गद्दुलाल चौधरी, मदन चौधरी र सरिता चौधरी रहेका छन् । त्यस्तै सचिवमा भिष्म चौधरी, सहसचिवमा अर्जुन चौधरी र कोषाध्यक्षमा कष्णी चौधरी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा भरथरी चौधरी, शिव चौधरी, सम्रिता चौधरी, सिता चौधरी, चन्द्र चौधरी, फुलराम चौधरी, प्रभा चौधरी, रमा चौधरी, चुडामणि चौधरी, दिखि चौधरी र रवि चौधरी रहेका छन् ।
बैठकमा थारु कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्ण बहादुर चौधरीले पुर्खाहरुको संघर्ष र सक्रियताले २००५ सालमा थारु कल्याणकारिणी सभा स्थापना गरी थारु समुदायको हक अधिकारका लागि आवाज उठाएको बताउँदै उनीहरु प्रति सम्मान व्यक्त गरेका थिए । त्यस्तै विगतमा थासकको नेतृत्वकर्ताहरुले थारु समुदायमा रहेको झाङ्गा प्रथा, तनिखुट्या प्रथा, सट्टापट्टा, वालविवाह जस्ता सामाजिक विकृतिहरुलाई हटाएर थारुहरुको अधिकारका निम्ति अघि बढेको बताए ।
त्यसैगरी चौधरीले थाकसमा पदका लागि भन्दा पनि थारुहरुको मुद्दा, हकअधिकार र उत्थानका लागि आवाज उठाउने व्यक्ति आउनुपर्ने बताए । साथै अरुको दावावमा भन्दा पनि आफैले म काम गर्छु, म आवाज उठाउछु भन्ने व्यक्ति आउन आग्रह गरे । त्यस्तै थारुहरुको मौलिक सस्कार, संस्कृति सभ्यतालाई जोगाइराख्न अभियान चलाउन बहस गर्न जरुरी रहेको बताए ।
त्यस्तै बैठकमा बोल्ने वक्ताहरुले थारु समुदायको हकहित र अधिकारका लागि आवाज उठाउने, नीति नियम बनाउन, सरकारलाई खबरदारी गर्न सबै एक भएर अगाडी बढ्नु पर्ने बताएका थिए । उनीहरुले सबै थारुहरुको एकता र सक्रियताले नै समग्र थारु समुदायको समस्याहरु सरकारसामु पुर्याउन सकिने भएकाले थारुहरुको सञ्जाल बनाउन जरुरी रहेको बताएका थिए ।
उक्त अवसरमा थाकस दाङका अध्यक्ष अशोक चौधरी, नमुना भुह्यार थानका अध्यक्ष तथा अधिवक्ता रामशरण चौधरी, दंगीशरण–३ का वडाध्यक्ष शुकलाल चौधरी, थाकस क्षेत्र नं. ३ का अध्यक्ष मोहनकुमार चौधरी, तुलसीपुर–१५ का वडासदस्य मंगल चौधरी, समाजसेवी बुद्धिजीवी गद्दुलाल चौधरी, थाकस जिल्ला सल्लाहकार लक्ष्मीमान चौधरी, सन्तोष चौधरी, जनकुलाल चौधरी, थाकस क्षेत्र नं. ३ का सचिव जितेन्द्र चौधरी लगायतकाले बोलेका थिए । बैठकको सहजीकरण थाकस क्षेत्र नं. ३ का सल्लाहकार इन्द्रबहादुर चौधरीले गरेका थिए ।


