रकुम । रुकुम पश्चिममा वडाध्यक्षसहित छ जनालाई जुवाको खालबाट पक्राउ गरिएको छ । त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष ४७ वर्षीय नन्नराम बाँठासहित छ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्यमा मुसिकोट नगरपालिका ११ का ४८ वर्षीय कमल पुन, त्रिवेणी गाउँपालिका ५ का ४४ वर्षीय डिल्लीबहादुर घर्ती, सोही ठाउँका ३० वर्षीय शिव विवश घर्ती मगर, ५३ वर्षीय नन्दकुमार घर्ती मगर र त्रिवेणी २ का ४० वर्षीय मनबहादुर बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।
त्रिवेणी गाउँपालिका–४ लामाखेतस्थित विमलबहादुर खड्काको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी निरीक्षक पुनले जानकारी दिए । प्रहरीचौकी सिम्रुतबाट प्रहरी निरीक्षक हेमन्त गिरीको नेतृत्वमा छ जनाको प्रहरी टोली खटिएको थियो ।
उनीहरूको साथबाट रु १ लाख ६७ हजार १०५ सहित एक गड्डी खोलेको र एक गड्डी नखोलेको ताससमेत बरामद गरिएको उनले बताए । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


