सामुदायिक विद्यालय : जहाँ भर्ना पाउनै मुस्किल

दाङ : नयाँ शैक्षिक सत्र अनुसार अहिले विद्यालयमा भर्ना अभियान सञ्चालन भइरहेको छ । सरकारले बैशाख १५ देखि भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरे पनि विद्यालयमा नियमित तालिका अनुसार नै भर्ना अभियान भइरहेको छ । त्यसमा पनि स्थानीय सरकारले आफ्नो कार्यक्षेत्र भएको भन्दै आ–आफ्नो निर्णयले अहिले विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेका छन् ।

आकर्षक विभिन्न अभियान चलाए पनि सामुदायिक विद्यालयका विद्यार्थीहरूको संख्या बर्सेनि घट्दै गएको अवस्था र सामुदायिक विद्यालय विद्यार्थी नपाएर बन्द हुने तथा स्थानीय सरकारले नियमित रुपमा मर्ज गर्ने नीति लिइरहदा दाङको एक सामुदायिक विद्यालयमा भने विद्यार्थीहरूले सहज भर्ना पाउन मुस्किल देखिएको छ ।

विद्यालयमा भर्न हुन आउने नयाँ विद्यार्थीहरूको चाप बढ्दै गए पछि दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ६मा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले पहिले प्रवेश परीक्षामा पास अनि मात्रै विद्यालयमा विद्यार्थी भर्ना लिने गरेको छ । विद्यालयमा अहिले बाहिरबाट आउने विद्यार्थीहरू दैनिक सयको हाराहारीमा पुगेका छन् । सोहि नै संख्यामा प्रवेश परीक्षामा सहभागी हुने गरेको विद्यालयले जनाएको छ ।

बैशाख ७ गतेदेखि सुरू भएको विद्यालयको भर्ना अभियानमा अहिले थामी नसक्नु भीड लाग्ने गरेको विद्यालयमा लेखा तथा प्रशासन प्रमुख धर्मरान पौडेलले बताए । लुम्बिनी प्रदेशमा २ हजार ६६ विद्यालयहरुमा एक सय जना विद्यार्थी पनि नभएको तथ्यांक छ । तर, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ६मा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा पढ्नलाई विद्यार्थीहरूको थामी नसक्नु भीड छ । नेपालको उत्कृष्ट विद्यालयको रुपमा राष्ट्रिय सम्मान पाएको विद्यालयमा अहिले ३ हजार बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

माध्यमिक विद्यालय (मावि) सेन्टर तुलसीपुरमा विगतका केहि वर्षदेखि नै विद्यार्थी भर्नामा प्रवेश परीक्षाको अभ्यास गरिदै आएको विद्यालय प्रशासनले बताएको छ । अहिले प्रवेश परीक्षा प्रणालीले भर्ना प्रक्रिया अत्यन्त प्रतिस्पर्धात्मक बनेको छ ।

प्रवेश परीक्षा पास गरेपछि मात्र भर्ना पाइने व्यवस्था गरिएपछि यहाँ अध्ययन गर्न चाहने विद्यार्थीहरूको ओइरो लाग्ने गरेको छ । विद्यालयका लेखा तथा प्रशासन प्रमुख पौडेलका अनुसार दैनिक करिब सय जनासम्म विद्यार्थी प्रवेश परीक्षामा सहभागी हुने गरेको र निजी विद्यालयबाट समेत ठूलो संख्यामा विद्यार्थी भर्ना हुनका लागि आउने गरेका छन् । अझ रोचक कुरा त,अर्कै छ, पौडेलले भने,निजी विद्यालयमा पढ्ने विद्यार्थी त छदै छ, केही निजी विद्यालयका प्रिन्सिपलका सन्तानसमेत तुलसीपुर माविमा भर्ना हुन प्रयासरत छन् । उहाँहरूले नै विद्यालयमा भर्ना गरिहदिनु पर्‍यो भनिरहनु भएको छ ।

उनका अनुसार प्रवेश परीक्षा उत्तीर्ण गरेर आजसम्म ३ सय बढी नयाँ विद्यार्थी भर्ना भइसकेका छन् । विद्यालयमा पढिरहेकालाई भने प्रवेश परीक्षा दिनुपर्ने छैन । भर्ना प्रक्रियाको प्रारम्भिक पाँच दिनमै उल्लेख्य उपस्थिति देखिएको उनले बताए । यसले विद्यालयप्रतिको बढ्दो विश्वास र आकर्षण स्पष्ट पारेको उनले दावी गरे ।

नयाँ प्रविधिमा जोडिदै विद्यालय

विद्यालयले प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउँदै नयाँ सफ्टवेयरमार्फत भर्ना प्रक्रिया र कक्षा सञ्चालन प्रक्रिया थालेको छ । अहिले नयाँ प्रणालीमार्फत् विद्यार्थीको फोटोसहितको डिजिटल अभिलेख राखिने व्यवस्था गरिएको छ । नयाँ प्रविधिमैत्री प्रणालीले अभिभावक र विद्यालयबीचको दूरी घटाएको छ । अब अभिभावकले आफ्ना बालबालिकाको गृहकार्य अनलाइनमार्फत् हेर्न सक्नेछन् भने विद्यालयका विदा,कार्यक्रम तथा अन्य सूचनाहरू सिधै अभिभावकको मोबाइलमा म्यासेजमार्फत प्राप्त हुनेछन् । साथै टाइमटेबल,शिक्षकको सम्पर्क नम्बर र कक्षा शिक्षकसम्बन्धी जानकारी पनि सहज रूपमा उपलब्ध गराइने छ । भने विद्यार्थीहरुले शिक्षकको अनुगमन र मुल्यांकन समेत गर्ने छन्।

विद्यालयले ई–हाजिरी प्रणालीसमेत सुरू गरेको छ,जसले विद्यार्थी विद्यालय पुगेको र घर फर्किएको जानकारी अभिभावकलाई तुरुन्तै उपलब्ध गराउँछ । अझ अभिभावकले आफ्ना बालबालिकालाई सिसिटिभीमार्फत प्रत्यक्ष निगरानी गर्न सक्ने सुविधा पनि उपलब्ध गराइएको विद्यालयमा प्रधानाध्यापक भागवत पौडेलले बताए ।

गुणस्तरीय शिक्षा,कडा छनोट प्रक्रिया र प्रविधिमैत्री व्यवस्थापनका कारण तुलसीपुर मावि अहिले अभिभावक तथा विद्यार्थीहरूको पहिलो रोजाइ बन्न थालेको अभिभावकहरुको भनाइ छ । विद्यालय व्यवस्थापन समितिले विद्यालय जोडिएका शिक्षक,कर्मचारी सबैका सन्तान विद्यालयमै बढाउनु पर्ने नीति अनुसार पनि विद्यालय प्रति अभिभाकको विश्वास बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश कुमार रावत बताउँछन् । सबै शिक्षक,कर्मचारीले आफ्ना सन्तान विद्यालयमै बढाउने निर्णय गरेका छौं,‘उनले भने यसले पनि विद्यालय प्रतिको विश्वास र गुणस्तर बढाएको छ । शिक्षक कर्मचारीहरूले पनि साथ दिनु भएको छ ।’

प्रकाशित मिति : २०८३ बैशाख १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस