काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको नेतामा सहमति जुटेको विवरण सार्वजनिक भएका छन्।
उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वको समितिले दलको नेताको नाम सहमतिमा जुटाएको र सभापति गगनकुमार थापालाई बुझाएको बताइन्छ।
केन्द्रीय कार्य सम्पादन समितिमा सभापति थापाले उक्त नाम प्रस्ताव गरी सर्वसम्मत पारीत गरिने बताइन्छ। तर, कसको नाममा सहमति जुटाएको भन्नेचाहिँ गोप्य राखिएको छ।
‘३८ सिटे दलमा सहमति जुटेको छ। नाम भन्न मिल्दै’, उच्च स्रोतले भन्यो। उक्त नाममा असहमति हुन सक्ने सम्भावना पनि रहेको छ।
कांग्रेस नेता पूर्णबहादुर खड्काले हस्तक्षेप असह्य हुने बताइसकेका छन्।
‘नेपाली कांग्रेस संसदीय दलको नेता छनोटको कार्यमा देखिएको अस्वाभाविक ढिलाइ र अन्योल दलको सार्भभौम अधिकार माथिको ठाडो हस्तक्षेपको परिणाम हो। यो कार्य तत्काल बन्द गरियोस्,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
संसदीय दल नेता छनोट गर्ने कार्य पार्टी केन्द्रीय कार्यसमितिले दलको विधान अनुमोदन गरेपछि संसदीय दलको विधानको व्यवस्थाबमोजिम केन्द्रीय कार्यसमितिको समन्वय र सहजीकरणमा संसदीय दलका सदस्यहरूले सर्बसम्मत वा प्रतिस्पर्धाको माध्यममाबाट सार्वभौम तरिकाले निर्वाचन गर्ने विषय भएको उनको भनाइ छ।


