शिक्षामा चासो राख्ने हामीले कहिल्यै शान्त भएर आफूलाई सोधेका छौं, हामी कहाँ चुक्यौं? भनेर आजभोलि कक्षाकोठामा बस्दा एउटा सामान्य प्रश्न बारम्बार सुनिन्छ, “सर, यो परीक्षामा कति नम्बरको आउँछ?” यो प्रश्न सानो जस्तो लागे पनि, यसले हाम्रो शिक्षाको वास्तविक अवस्था देखाउँछ। विद्यार्थीका लागि पढाइको अर्थ अहिले धेरै हदसम्म “परीक्षामा पास हुने” मात्र बनेको छ । सिकाइ, बुझाइ, प्रयोग यी सबै कुराहरू दोस्रो स्थानमा पुगेका छन्।
क) कक्षाकोठाको यथार्थ
एक विद्यार्थीले नयाँ पाठ खोलेर पढ्दै थियो। त्यही बेला अभिभावकले सोध्नुभयो ।“यो पनि पढ्नुपर्छ र?”विद्यार्थीले सहजै जवाफ दियो। “सरले भन्नुभएको छ, यो आउँदैन।” यो एउटा सानो संवाद हो, तर यसले ठूलो साँचो उजागर गर्छ,
हामीले पढाइलाई “परीक्षामा आउने र नआउने” मा सीमित गरिसकेका छौं। यसले के बुझाउँछ भने समस्या केवल विद्यार्थीमा होइन। हामीले प्रायः दोष विद्यार्थीलाई दिन्छौं, तर यथार्थमा समस्या धेरै गहिरो छ । शिक्षक पनि कोर्स सक्ने र राम्रो रिजल्ट देखाउने दबावमा छन्।
“यो रट्यौ भने ५ नम्बर पक्का” भन्ने अभ्यास सामान्य बन्दै गएको छ। अभिभावकले पनि GPA लाई नै सफलता मान्न थालेका छन्। विद्यालयले गुणस्तर मापन गर्न उच्च नतिजालाई प्राथमिकता दिन्छ
यसरी हेर्दा, समस्या व्यक्तिमा होइन, सम्पूर्ण प्रणालीमा छ। एउटा सोच्न लायक उदाहरण लिएर हेरौं। मानौं दुई जना विद्यार्थीहरु लिएर हेरौं। पहिलो विद्यार्थीले सबै उत्तर रटेर परीक्षामा उत्कृष्ट GPA ल्यायो।
दोस्रो विद्यार्थीले कम नम्बर ल्यायो, तर उसले सिकेको कुरा जीवनमा प्रयोग गर्न सक्छ,समस्या समाधान गर्न सक्छ, आफ्नो विचार स्पष्ट राख्न सक्छ। अब यहाँ प्रश्न उठ्छ कि साँचो अर्थमा सक्षम को हो? यदि हाम्रो शिक्षा प्रणालीले पहिलो विद्यार्थीलाई मात्र सफल मान्छ भने, हामीले अझै गहिरो सुधार गर्न बाँकी छ।
हामी सबैले बुझ्नु पर्ने कुरा के हो भने शिक्षा भनेको नम्बरको प्रतिस्पर्धा मात्र होइन,मानिस बनाउने निरन्तर यात्रा हो ।
ख) सिकाइको वास्तविक उद्देश्य
शिक्षा केवल कागजमा नम्बर ल्याउने माध्यम होइन । यसले विद्यार्थीमा तीन महत्वपूर्ण पक्ष विकास गर्नुपर्छः Knowledge (ज्ञान) ःजसले विषयवस्तुको बुझाइ लाई बुझाउँछ ।
Skills (सीप)ः जसले व्यवहारमा प्रयोग गर्ने क्षमतालाई बुझाउँछ । Attitude (दृष्टिकोण)ः सकारात्मक सोच र मूल्य मान्यतालाई बुझाउँछ ।
यी तीनै पक्ष सन्तुलित भए मात्र शिक्षा पूर्ण हुन्छ ।
ग) मूल्याङ्कनमा नयाँ प्रयास
अहिले साना कक्षाहरूमा सुरु गरिएको नयाँ मूल्याङ्कन प्रणालीले यही कुरा समेट्न खोजेको छ। अब केवल “कति लेख्यो?” मात्र होइन। “के सिक्यो? कस्तो व्यवहार देखायो? कस्ता सीप विकास ग¥यो?” भन्ने कुरालाई पनि मूल्याङ्कन गर्ने प्रयास भइरहेको छ। यो परिवर्तन सकारात्मक हो। तर यससँगै एउटा डर पनि छ,
कतै यो प्रयास व्यवहारमा ठीकसँग लागू नभएर उल्टै समस्याको कारण त बन्दैन? भन्ने।
घ) अबको बाटो के त ?
शिक्षकहरुले कक्षा कोठामा केवल पढाउने मात्र होइन, पाठलाई जीवनसँग जोडेर सिकाउने गर्नुपर्दछ । रटाइभन्दा पनि बुझाइमा जोड दिनी पर्दछ । बेला बेलामा विद्यार्थीलाई प्रश्न गर्न, सोच्न र खोज्न प्रेरित गर्नु पर्दछ ।
अभिभावकहरुले पनि केवल न्एब् मात्र होइन, बच्चाको व्यवहार, सीप र सोचमा के परिवर्तन भो भन्नेमा ध्यान दिनु पर्दछ। बाबुनानी हरुले “आज के सिके?” भनेर सोध्ने बानी बसाल्नु राम्रो हुनेछ ।
विद्यालय र प्रणालीका लागि पनि सोच्नु पर्ने बेला आएको छ । अबका सिकाई क्रियाकलाप परियोजना, प्रस्तुति र व्यवहारमा आधारित हुनु पर्दछ ।सोही अनुरूप मूल्याङ्कनलाई बलियो बनाउनी पर्दछ। शिक्षकलाई तालिम र आवश्यक सहयोग उपलब्ध गराउनु पर्दछ । समाजमा शिक्षक प्रति हेर्ने दृष्टिकोण लाई बपरीवर्तन गराई मनोबललाई उच्च बानाउन जरुरी छ ।
विद्यार्थीका बाबु नानीहरू पनि नम्बरको पछाडि मात्र दौडिनु हुदैन। सिकाइलाई आफ्नो जीवनसँग जोड्ने प्रयास गर्नु पर्दछ ताकि भविष्यमा आउने अनेक समस्यालाई थेग्न सकियोस ।
अन्तमा, हामी चुक्यौं तर अझै पनि सुधारको ढोकाहरु खुला छन । नयाँ सरकार आएको छ, युवाहरु आउनु भएको छ । आशा गरौं,राम्रो हुन्छ । अब हामी सबै शिक्षाका सरोकारहरुले प्रण गर्नुपर्छ कि के हामी विद्यार्थीलाई केवल परीक्षा पास गराउने हो ?
कि जीवनका लागि सक्षम बनाउने? हामी सबैले बुझ्नु पर्ने कुरा के हो भने शिक्षा भनेको नम्बरको प्रतिस्पर्धा मात्र होइन,मानिस बनाउने निरन्तर यात्रा हो ।


