उद्योग वाणिज्य टोलमा नाला तथा स्लाब निर्माण, खर्च सार्वजनिक

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ अन्तर्गत उद्योग वाणिज्य टोलमा नाला तथा स्लाब निर्माण कार्य सम्पन्न भएको छ। निर्माण सम्पन्न भएपछि उपभोक्ता समितिले चैत्र २७ गते एक कार्यक्रम आयोजना गरी खर्च सार्वजनिक गरेको हो।

उपभोक्ता समितिकी अध्यक्ष कमला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ५ का सदस्य भिमबहादुर केसी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै केसीले उपभोक्ता समितिमार्फत गरिएको निर्माण कार्य सन्तोषजनक र प्राविधिक ईष्टिमेटअनुसार सम्पन्न भएको बताउनुभयो। सानो बजेटमा पनि पारदर्शिता, प्रक्रियागत अनुशासन र इमान्दारिताका साथ गुणस्तरीय काम गरिएको भन्दै उहाँले प्रशंसा गर्नुभयो। साथै आगामी दिनमा टोलको थप विकासका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

टोल विकास समितिका अध्यक्ष यमकान्त भण्डारीले निर्माण अवधिभर नियमित अनुगमन र मूल्यांकन गरिएको जानकारी दिँदै काममा कुनै लापरवाही नभएको बताउनुभयो। उहाँका अनुसार ईष्टिमेटमा समावेश नभएका केही आवश्यक कामहरू समेत सम्पन्न गरिएको छ।

उक्त आयोजनाअन्तर्गत उद्योग वाणिज्य संघदेखि १९ बाहिनीको उत्तरपट्टि रहेको पर्खालसम्म दुबै तर्फ नालामा स्लाब निर्माण गरिएको छ। यसले विशेषगरी वर्षायाममा हुने जलजमाव तथा हिलोको समस्या न्यूनीकरणमा सहयोग पुग्ने स्थानीयको अपेक्षा रहेको छ।

कार्यक्रममा बोल्दै उपभोक्ता समितिकी अध्यक्ष कमला शर्माले आफूहरूले पाएको जिम्मेवारीलाई पूर्ण रूपमा निर्वाह गर्न समितिका पदाधिकारीहरू निरन्तर खटिएको बताउनुभयो। उहाँले निर्धारित समयसीमाभित्रै अर्थात् चैत्र महिनाभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिएको जानकारी दिनुभयो।

कोषाध्यक्ष भरत शर्माले सार्वजनिक गरेको विवरणअनुसार आयोजनाको कुल लागत २ लाख ३० हजार २७५ रुपैयाँ ६१ पैसा रहेको छ। जसमा आयोजना कार्यालयबाट २ लाख रुपैयाँ र जनसहभागिताबाट ३६ हजार ३६५ रुपैयाँ ३० पैसा योगदान गरिएको छ।

उपभोक्ता समितिकी सचिव उमा ढकालले वडा कार्यालयमार्फत स्वीकृत ईष्टिमेटभन्दा बढी परिमाणमा काम सम्पन्न गरिएको जानकारी दिनुभयो। कार्यक्रम उपभोक्ता समितिका जेष्ठ सदस्य शेषकान्त पराजुलीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सञ्चालन सचिव उमा ढकालले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ चैत्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस