काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो फागुन ६ गतेदेखि देशव्यापी चुनावी सभा गर्ने भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित सभा सुदूरपश्चिम प्रदेशको धनगढीबाट सुरु गर्न लागिएको रास्वपाले जनाएको छ ।
सोही दिनदेखि आयोजना गरिने सभामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले एउटै मञ्चबाट सम्बोधन गर्ने रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
“फागुन ६ गते सुदूरपश्चिम प्रदेशको धनगढीबाट आमसभाको सुरुआत गर्दै छौँ । सो आमसभामा सभापति र वरिष्ठ नेता एकै मञ्चमा देखिनुहुनेछ । सातै प्रदेशका सबै निर्वाचन क्षेत्रलाई समेट्ने गरी देशव्यापी आमसभाहरू हुँदै जान्छन्,” उनले भनिन् ।
रास्वपामा बालेन समाहित भएपछि पहिलोपटक माघ ५ गते जनकपुरमा पार्टीको चुनावी घोषणासभा आयोजना गरिएको थियो । त्यति बेला एउटै मञ्चमा देखिएका रवि–बालेन त्यसयता एक्लाएक्लै देश दौडाहामा निस्किएका थिए ।
जनकपुरको उक्त सभामा जाने क्रममा खुट्टामा चोट लागेको र छालामा संक्रमण भएपछि लामिछाने लामो समय आराम गरेर बसेका थिए । ढिलो गरी देश दौडाहामा निस्किएका उनी यति बेला स्याङ्जा पुगेका छन् ।
“सभापति र वरिष्ठ नेता छुट्टाछुट्टै देशैभरिका निर्वाचन क्षेत्रमा पुगिरहनुभएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार आगामी कार्यक्रमहरू तय भएका छन् । अधिकांश आमसभामा दुवै नेताहरू पुग्ने, नभ्याउने अवस्था भएमा छुट्टाछुट्टै पनि जानुहुन्छ,” रावलले भनिन् ।
निर्वाचन आयोगले फागुन ४ देखि १८ गतेसम्म चुनावी सभा गर्ने समयसीमा तोकेको छ ।


