काठमाडौं । दक्षिण एसियाली फुटबल संघ (साफ) महिला च्याम्पियनसिपको आठौँ संस्करण भारतमा हुने भएको छ ।
बुधबार साफका महासचिव पुरुषोत्तम कट्टेलले साफ महिला च्याम्पियनसिपको सन् २०२६ को संस्करण आयोजना गर्ने जिम्मेवारी भारतलाई दिइएको जनाएका हुन् ।
महासचिव कट्टेलका अनुसार प्रतियोगिता फिफा विन्डोअनुसार सन् २०२६ जुन पहिलो साता हुनेछ ।
“साफ महिला च्याम्पियनसिप भारतमा हुने तय भइसकेको छ । यो वर्ष खेलाडीको समयलाई ख्यालमा राखेर फिफा विन्डोअनुसार नै राखेका छौँ,” महासचिव कट्टेलले भने ।
यो प्रतियोगिताको आठौं संस्करण हुनेछ । बंगलादेश प्रतियोगिताको साविक विजेता हो ।
बंगलादेशले नेपालमा सम्पन्न पछिल्लो संस्करण फाइनलमा घरेलु टोलीलाई २–१ ले पराजित गर्दै उपाधि उचालेको थियो । प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गत डिसेम्बर ५ देखि २० सम्म सञ्चालन भएको थियो ।
महासचिव कट्टेलले साफ पुरुष च्याम्पियनसिप भने बंगलादेशमा हुने सम्भावना उच्च रहेको बताएका छन् ।


