एनपीएल : नवप्रतिभाका लागि सुनौलो अवसर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा मङ्सिर १ गतेदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) जारी छ । प्रतियोगिता नेपाली क्रिकेटको विकासका साथै नवप्रतिभाका लागि सुनौलो अवसरका रूपमा रहेको छ ।

लयमा क्रिकेट खेलेर पनि प्लेटफर्म नपाएका खेलाडीका लागि एनपिएल सुनौलो अवसर बनेको छ । साथै आर्थिक हिसाबले पनि खेलाडीको अवस्था मजबुद बनाउन सहयोग मिलेको छ । कीर्तिपुर मैदानमा फ्लडलाइट र प्याराफिट पनि जडान गरिएको छ ।

घरेलु मैदानमै फ्लडलाइटमा पहिलोपटक प्रतियोगिता भएको छ । यसको अनुभव नेपाली खेलाडीले घरेलु मैदानमै गर्न पाए । एनपिएलमा धेरै नवप्रतिभाले पनि अवसर पाएका छन्, त्यो उनीहरुका लागि सुखद् पक्ष हो । विदेशी खेलाडीबाट सिक्ने र अनुभव साटासाट गर्न समेत मिलेको छ ।

प्रत्येक टोलीको अन्तिम ११ मा चार जना विदेशी खेलाडी खेल्ने गर्दछन् । जसले गर्दा मैदानमै उनीहरुबाट नेपाली खेलाडीले सिक्ने मौका मिलेको छ । फाइनल पुगेका सुदूरपश्चिम रोयल्सका युवा खेलाडी हिक्मत महरा एनपिएल खेल्न पाउँदा एकदमै खुसी छन् ।

ट्यालेन्ट हन्टबाट छानिएका हिक्मतले पहिलोपटक कीर्तिपुर मैदानमा क्रिकेट खेलेका हुन् । उनले भने, ‘पहिलोपटक एनपिएलमार्फत कीर्तिपुर मैदानमा खेल्न पाउँदा निकै खुसी छु । विदेशी खेलाडीबाट अनुभव पनि लिन पाइयो ।’ चितवन राइनोजविरुद्ध डेब्यू गरेका हिक्मतले उक्त खेलमा विदेशी खेलाडी शैफ जैबको विकेट पनि लिए । ‘मेरो ड्रिम डेब्यू भयो । पहिलो खेलमै विदेशी खेलाडीको विकेट लिदा एकदमै खुसी छु, उनले भने ।’ एनपिएलका साथै ग्रासरुट क्रिकेट पनि निरन्तर रूपमा भएमा नयाँ प्रतिभा अझै आउने हिक्मतको भनाइ छ ।

विराटनगर किङसका अलराउन्डर खेलाडी नरेन भट्ट पनि एनपिएलले नेपाली क्रिकेटको विकास र नवप्रतिभाका लागि राम्रो अवसर रहेको बताउ छन् । उनले भने, ‘नयाँ खेलाडीका लागि सिक्ने र क्षमता देखाउने राम्रो अवसरका रूपमा एनपिएल रहेको छ, यहाँ राम्रो प्रदर्शन गर्न सके भविष्यको ढोका पनि खुल्छ ।’ नेपाली यु १९ राष्ट्रिय टोलीको कप्तानीसमेत सम्हालीसकेका नरेनले टिभीमा हेर्ने खेलाडीसँग खेल्न र अनुभव लिन पाइरहेको बताए । ‘टिभीमा हेर्ने खेलाडीसँगै खेल्न मिलेको छ । अनुभव साटासाट गर्न पाइएको छ । यो सिक्ने अवसर हो । यहाँ राम्रो खेल्नु हाम्रो लागि आवश्यक छ, उनी भन्छन् ।’

लुम्बिनी लायन्सका बलर अलराउन्डर शेर मल्ल एनपिएल राम्रो एक्सपोजर भएको बताउछन् । एनपिएल राम्रो एक्सपोजर हो । यहाँ हामीले राम्रो प्रदर्शन गर्न सक्नुपर्दछ । यहाँ राम्रो खेल्यौँ भने भोलि राष्ट्रिय टिममा पर्ने समभावना हुन्छ, उनले भने ।’ खेलाडीका लागि आर्थिक हिसाबले पनि एनपिएल राम्रो रहेको बताउदै उनले क्रिकेट खेलेरै पनि बाँच्न सकन्छि भन्ने आधार भएको बताए । उनले भने, ‘क्रिकेट महङ्गो खेल छ । एनपिएलमा बोली लगाएर खेलाडी किनिने भएकोले खेलाडीको आर्थिक अवस्था पनि बढ्दै जान्छ । क्रिकेट खेलेर पनि बाच्न सकिन्छ भन्ने आधार हुन्छ ।’

नेपाली क्रिकेटकै ठुलो लिग खेल्न पाउँदा सुदूरपश्चिम रोयल्सका दीपक बोहरा पनि खुसी छन् । ‘ठुला खेलाडीसँगै खेल्न पाउँदा एकदमै खुसी छौँ । एनपिएलबाट राम्रो अनुभव हुँदैछ । धेरै कुरा सिक्न पाइरहेका छौँ, उनले भने ।’

पोखरा एभेन्जर्सबाट एनपिएल खेलेका किरण ठगुन्ना पनि एनपिएलबाट धेरै कुरा सिक्ने मौका मिलेको भन्छन् । उनी भन्छन्, ‘एनपिएलबाट धेरै कुरा सिक्न मिलेको छ । विदेशी खेलाडी र नेपाली अग्रज खेलाडीसँग अनुभव साटासाट गर्न पाइयो ।’

नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा पछिल्लो समय लोकप्रिय खेलका रूपमा क्रिकेट उदाएको बताए । नेपाली क्रिकेटको यो स्वर्णीम युग हो । योभन्दा पहिला क्रिकेटको यो उचाइ पुग्न सकेको थिएन । उनले भने, ‘एनपिएलले क्रिकेट थप बलियो बनाउँदै खेलाडीलाई व्यवशायिक बनाउन मद्दत पुग्नेछ । साथै खेलाडी उत्पादनका लागि पनि महत्वपूर्ण छ । एनपिएलले नेपाली क्रिकेटको विकासमा थप टेवा पुर्याउनेछ ।’

जारी एनपिएलमा आठ टोली सहभागी छन् । जसमध्ये कर्णाली याक्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज बाहिरिसकेका छन् । विराटनगर किङस र लुम्बिनी लायन्स फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा आज भिड्दैछन् । आज जित्ने टोली मङ्सिर २७ गते सुदूरपश्चिम रोयल्ससँग फाइनलमा खेल्नेछ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस