श्रीलंकामा सम्पन्न विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा नेपालले २६ स्वर्ण, १० रजत र पाँच कास्यसहित कुल ४१ पदक प्राप्त गरेको छ । प्रतियोगितामा १२ देशका २०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालका लागि डा। जितेन्द्रकुमार साह र भेषकुमारी अस्लामीले दोहोरो स्वर्ण पदक जिते ।
जितेन्द्रले ६९ बेन्च मास्टर्स (४०–४४) र ६९ डेड लिफ्ट मास्टर्स (४०–४४) मा तथा भेषकुमारीले ७२ केजी मास्टर्स र खुलामा स्वर्ण पदक जितेका हुन् । जितेन्द्रले मास्र्टस ६९ थ्री लिफ्टमा रजत पदक पनि हात पारे । रमेश श्रेष्ठले पुरुष मास्टर्स बेन्च (४५–४९) तथा लक्ष्मी श्रेष्ठले महिला मास्टर्स बेन्च (४०–४४) मा नेपाललाई स्वर्ण पदक दिलाए ।
यस्तै, अर्चना मानन्धरले महिला बेन्च (४४–४४) मा स्वर्ण र ५३ केजी (४४–४४) खुलामा रजत पदक जित्दा शुकदेव कार्कीले पुरुष ६९ केजी खुलामा स्वर्ण पदक चुमे । सुकदेव नै पुरुषतर्फ वेस्ट लिफ्टर चुनिए ।
सुकदेवले २४० केजी स्क्वाट, १३८ केजी बेन्च प्रेस र २६४ केजी डेडलिफ्ट गरी कुल ६४२ केजी उचालेका थिए ।
महिलातर्फ शर्मिला शाहले वेस्ट लिफ्टरको उपाधि जितिन् । यसैगरी कल्पना खत्री जुनियर गर्ल्सतर्फ वेस्ट लिफ्टर चुनिइन् । नेपाल महिला तथा पुरुष दुवैतर्फ उत्कृष्ट टोली चुनियो ।


