टी–२० विश्वकप २०२६: नेपाल समूह ‘सी’ मा, सबै खेल भारतको मुम्बईमा हुने

काठमाडौँ। सन् २०२६ मा हुने आईसीसी टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ। अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सहभागी २० टोलीलाई चार समूहमा विभाजन गर्दै यो तालिका सार्वजनिक गरेको हो।

भारत र श्रीलङ्कामा हुने आईसीसी टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुनेछ। सार्वजनिक तालिकाअनुसार नेपाल समूह ‘सी’ मा रहेको छ। नेपालका सबै खेल भारतको मुम्बईमा राखिएका छन्। नेपालको समूहमा वेस्ट इन्डिज, इङ्ल्यान्ड, बङ्गलादेश र इटाली छन्। वेस्ट इन्डिज र इङ्ल्यान्ड दुवै दुई–दुई पटकका विश्वविजेतासमेत हुन्।

नेपालको पहिलो खेल आगमी फेब्रुअरी ८ तारिखमा मुम्बईस्थित वान्खडे रङ्गशालामा इङ्ग्ल्यान्डसँग हुनेछ। यस्तै नेपालको दोस्रो खेल फेब्रुअरी १२ मा इटाली, तेस्रो फेब्रुअरी १५ मा वेस्ट इन्डिज र चौथो फेब्रुअरी १७ मा बङ्गलादेशसँग हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आईसीसी अध्यक्ष जय शाहलाई भेटेर नेपालका खेलहरू भारतमा राखिदिन आग्रह गरेका थिए, र उक्त आग्रहलाई स्वीकार गर्दै नेपालका सबै खेल भारतमा राखिएको अध्यक्ष चन्दले बताउनुभयो। योसँगै नेपाल तेस्रोपटक विश्वकपमा सहभागी हुँदैछ, यसअघि नेपालले सन् २०१४ र २०२४ मा विश्वकप खेलेको थियो।

प्रकाशित मिति : २०८२ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया दिनुहोस