‘जेनजी’ आन्दोलनका दोषीलाई कारबाही गर्न माग

काठमाडौं । ‘जेनजी’ युवाको एक समूहले गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको छ । आइतबार (मंसिर ७) सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँगको छलफलमा जेनजी टु नामक समूहका प्रतिनिधिले उक्त आन्दोलनका क्रममा भएको दमनमा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको हो ।

यस्तै, भदौ २४ गते जेनजीका नाममा भएको आगजनी र तोडफोडमा संलग्नलाई समेत कारबाही गर्नुपर्ने उनीहरूले माग गरे । जेनजी २.० समूहका प्रवक्ता अविन लिम्बूले गृहमन्त्रीसँगको छलफलका क्रममा उक्त आन्दोलनमा भएका घटनाका दोषीलाई कारबाही गर्न माग गरिएको बताए ।

आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरकारलाई सहयोग गर्न तत्पर रहेको आफूहरूले बताएको उनले जानकारी दिए । लिम्बूले आफूहरूको समूह देशभर विस्तार गरिएको बताए ।

जेनजी टुले यही मंसिर १२ गते काठमाडौंको माइतीघरमा सहिदहरूको सम्झनामा मौनधारण गर्ने भएको छ । साथै, गृहमन्त्रीलगायत अरू मन्त्रीहरूलाई माइतीघरमा नै जेनजीका मुद्दा तथा मागसहित ज्ञापनपत्र बुझाइने जनाइएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस