यो सरकारले सामाजिक सञ्जाल बन्द गर्दैन: सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन् । बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यम आबद्ध विभिन्न संघ संस्थाहरूसँगको छलफलमा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

उनले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न नियमनको खाँचो रहेको औंल्याए । “सामाजिक सञ्जाल कहिल्यै पनि बन्द हुनु हुँदैन र बन्द गरिंदैन,” उनले भने, “सामाजिक सञ्जाललाई हामीले व्यवस्थित गर्नुपर्छ । र, जिम्मेवार बन्नुपर्छ, बनाउनुपर्छ ।”

उनले सामाजिक सञ्जाललाई बन्द गर्नेभन्दा पनि व्यवस्थित गर्ने आफ्नो प्राथमिकता रहेको सुनाए ।

केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालमा सूचीकरणमा नआएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेपछि चौतर्फी विरोध भएको थियो । त्यसपछि जेनजी पुस्ताले सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलन गरेका थिए । त्यही आन्दोलनको आडमा हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको हो ।

प्रकाशित मिति : २०८२ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस