पूर्व प्रधानन्यायाधीश कार्कीलाई आज साँझ सपथ खुवाउने तयारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाईमा शुक्रवार दिउँसो बस्ने बैठकले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन कुन प्रावधान तथा प्रक्रिया अनुसार गर्ने भन्ने बारेमा टुँगो लाग्ने भएको छ । उक्त बैठकले सबै विषय टुङ्ग्याएपछि शुक्रवार साँझसम्ममा कार्कीलाई राष्ट्रपति पौडेलले शपथ खुवाउने तयारी गरिएको जानकारी प्राप्त भएको छ ।

यसअघि आज बिहान ९ बजेदेखि बैठक बस्ने भनिए पनि उक्त बैठक अहिले दिउँसोलाई सारिएको छ । स्रोतका अनुसार बैठकले टुंग्याउन बाँकी रहेका विषयलाई टुंग्याउने छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा बिहीवार दिउँसो तथा राति शीतल निवासमा संवैधानिक विज्ञ, पूर्व प्रधानन्यायाधीश कार्की तथा नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको सहभागितामा गहन छलफल भएको थियो ।

उक्त छलफलमा जेन–जीका तर्फबाट राखिएको संसद विघटनको मागमा भने सहमति हुन सकेको थिएन । छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति जुट्न नसकेपछि निष्कर्षमा पुग्न नसकेको बताइन्छ । यद्यपि, अन्तरिम सरकारको नेतृत्वका लागि सुशीला कार्कीलाई प्रधानमन्त्री अथवा मन्त्रिपरिषद् अध्यक्ष नियुक्त गर्ने विषयमा भने प्रारम्भिक सहमति बनिसकेको छ ।

छलफलमा जेन–जी समूहको प्रतिनिधित्व गर्दै अधिवक्ता ओमप्रकाश अर्याल सहभागी थिए । अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) का कानुनी सल्लाहकार पनि हुन् । बालेनले कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको पक्षमा समर्थन जनाइसकेका छन् । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अधिकांश राजनीतिक दलले प्रधानमन्त्रीको रुपमा समर्थन गर्ने बुझिएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस